फेब्रुवरी महिनाको मध्यतिरको कुरो। जाडो अलि कम हुँदै जानु पर्नेमा झनै चम्किएको छ। तापमान माइनसमा चलिरहेको निकै दिन भइसक्यो। एक साता अघि परेको हिउँ अझै पग्लिसकेको छैन। बेलाबेलामा हिउँ थपिने क्रम कायम नै छ। हरिया चौरहरु लगायत हिउँ अड्न सक्ने ठाऊँ सबै सेताम्य छन्। सडक सोहोरेर दायाँ-बायाँ थुपारिएका हिउँका थुप्राहरु भने मैलिएर ध्वाँसे रंगको बरफको ढिकुराहरुमा परिणत भएका छन्। धूपीका बोटहरु बाहेक अन्य रुखहरु सर्वाङ्ग नाङ्गिएका छन् र बेलाबेलामा चल्ने चीसो सिरेटोले कक्रिएर कामी रहे झैं देखिन्छन्। म कोठाको झ्यालबाट बाहिर हेरिरहेको छु। आकाश पूर्णतया मेघाच्छन्न छ। अलि अग्लो स्थानमा रहेको र अगाडिको भूभाग भिरालो परेर फैलिएको कारणले परसम्मको दृश्य सहजै देख्न सकिन्छ। म भ्याएसम्म दाँया-बाँया चारैतिर नजर डुलाउने प्रयास गर्दछु। उकालो-ओरालो, खोंच-पाखो तथा समथर सबै मिलाएर निर्माण गरिएको आवासीय क्षेत्रभित्रको चित्रमय दृश्यावलि हिउँका कारण निकै मनमोहक हुन पुगेको छ। वातावरण शान्त तथा सुनसान छ। तथापि यदाकदा कौवा जस्ता देखिने काला रंगका पंक्षीहरु फाट्टफुट्ट उडेका देखिन्छन्। अन्य चराचुरुंगीहरुको भने नामोनिशान देखिदैन। घर पछाडिको चौरमा प्रायजसो साना-ठूला गरेर तीन देखि छवटा सम्म मृगको समूह चर्न आउने गर्थे। ती पनि अलि दिन देखि हराएका छन्। मान्छेको आवत-जावत त उसै पनि देखिदैनथ्यो- झन् अहिले त कुरै भएन। थरिथरीका डिजाइनदार आकर्षक घरहरु मौन मुद्रामा उभ्भिएका छन्। कतै कुनै चहलपहल देखिदैन। म कता-कता दन्त्यकथामा वर्णित वस्तीविहीन सुन्दर तथा सुसज्जित निर्जन शहरको कल्पना गर्न पुग्छु। तर तीन-चार मिनेटको अन्तरमा घर अघिल्तिरको सडकबाट गुड्ने गरेको गाडी र त्यसको आवाजले मेरो कल्पना भंग गरिदिन्छ। म पुन झ्यालबाट बाहिर हेर्छु र आकाश अँध्यारिदै आएको महसुस गर्छु। नभन्दै फेरि हिउँ फुस्फुसाउन थालिसकेछ। अहिलेको हिउँमा भने कनिका जस्ता मसिना बरफका दानाहरु पनि मिसिएका छन्। रातभरि जस्तै हिउँ पर्छ भनिएको छ र अब दुई-तीन हप्ता जाडो अझ तीब्रतर हुँदै जाने अनुमान गरिएको छ। चीसोका कारण घर बाहिरका कृयाकलापहरु बन्दप्राय छन्। बिहानबेलुकीको हिंडाइले पनि निरन्तरता पाइरहेको छैन। यो भन्दा पनि कडा चिसोमा हिउँ खेल्दै हिंड्ने-कुद्ने गरेका जवानीका दिनहरु सम्झन्छु। स्वास्थ्यका कारण अहिले चीसोबाट जोगिनू भनिएको छ। त्यसैले अधिकाधिक समय घर भित्रै बित्छ। एसीको हावामा सास फेर्दा-फेर्दा कहिलेकाहीं भित्रैबाट उकुसमुकुस हुनथाल्छ र म जे पर्ला, सो टर्ला भनेर बाहिर निस्किने गर्छु। हिउँ छोएर चलेको हावाको ठिहिर्याउदो स्पर्शले मनमस्तिष्क दुबै तरोताजा तुल्याउछ। शरीरमा एक किसिमको स्फूर्ति महसुस हुन्छ र म एक घण्टा जति नहिंडी फर्किन सक्दिन। श्रीमती र छोरी म यसरी चीसोमा हिडेको पटक्कै मन पराउदैनन्। म भने मौसमको यो नयाँ रुपको मजा लिन चुक्नु हुँदैन भन्ने पक्षमा हुन्छु।
पोहोर साल यही कठ्याङ्ग्रिदो जाडोमा पहिलो पल्ट बोन म्यारो बायोप्सी गरी माइलोमा क्यान्सरको वास्तविक स्थिति पहिचान गरिएको थियो। त्यसपछि, माइलोमाका सम्भावित दुष्प्रभावहरुको आँकलनका लागि विभिन्न किसिमका परीक्षणहरु गरिए। ती दुष्प्रभावहरुलाई छोटकरीमा CRAB भनिदो रहेछ। C भन्नाले Calcium Elevation, R अर्थात Renal Dysfunction, A को अर्थ Anemia र B ले Bone Lesion भन्ने बुझाउँदो रहेछ। मेरो सन्दर्भमा, Renal Dysfunction वा मृगौलाको कमजारीकै कारण यो रोग पत्ता लाग्न गएको थियो। केही ढीलो भएको भए मृगौला स्थायी रुपले क्षतिग्रस्त हुने कुरामा कुनै शङ्कै थिएन। साथै हेमोग्लोबिनको स्तर पनि गिर्दो अवस्थामा रहेकोले म Anemia अर्थात रक्त-अल्पताको समेत शिकार भइसकेको थिएँ। यी बाहेक क्याल्सियम र हड्डी सम्बन्धी समस्या भने देखिएन। यिनै परीक्षणहरुका आधारमा शुरु गरिएको मेरो उपचार प्रकृयाले विभिन्न चरणहरु पार गर्दै एक वर्षको समयावधि पूरा गरिसकेको छ। पहिलो छ महिना त किमोथेरापीमै बित्यो। यो अवधिमा किमोका सामान्य असरहरु बाहेक अन्य जटिलता केही थपिएन। क्यान्सरको स्थितिमा पनि उल्लेख्य सुधार आयो। करिब पाँच हप्ताको अन्तराल पछि दोश्रो चरण अर्थात् बोन म्यारो प्रत्यारोपणका लागि अस्पताल भर्ना भएँ। पेटको संक्रमणका कारण जन्म-मरणको दोसाँधमा पुग्नु परे तापनि यो चरण पनि सफलतापूर्वक पार लगाइयो। त्यसपछि तीन महिना जतिको अवधि अब्जर्भेसनमा रहनु पर्दो रहेछ। म अत्यन्त दुर्बल एवं कृशकाय शरीर लिएर घर फर्किएको थिएँ। केही दिनसम्म त बसेको ठाऊँबाट उठ्दा चार हातखुट्टा टेक्नु पर्दथ्यो। रेलिङ्ग् नसमाई भर्याङ्ग चढ्न-ओर्लन सक्दिनथें। हिंड्दा गोडा लर्बराए झैं हुन्थ्यो। म विस्तार तङ्ग्रिन खोज्दै थिएँ- एकाएक कोभिडले पुन थलिन पुगें। समयक्रमले स्वास्थ्यमा सुधारका संकेतहरु देखिन थाल्यो। शरीरका दुर्बलताहरु दूर हुँदै गए। अरुचि तथा पेटको समस्या पनि हराउँदै गयो। बिहान-बेलुकीको हिंडडुल, तथा अन्य कृयाकलापहरु लगायत आफ्ना दैनिकी सबै नियमित ढंगले चल्न थाल्यो। जिउ घटेर अस्थिपञ्जर तुल्य भएको थियो, अहिले फेरि पूर्वावस्थामै फर्किंएको छ। स्वास्थ्यका सबै सूचकाङ्कहरु सन्तोषप्रद देखिदै छन्। माइलोमाले क्षति पुर्याएको मृगौलाको कार्यक्षमता पनि सामान्य अवस्थामा फर्केको छ। यसैगरी, हेमोग्लोबिनको मात्रामा पनि पर्याप्त वृद्धि भइसक्यो। बोन म्यारो को प्रत्यारोपण पछि पनि निमिट्यान्न हुन नसकेको क्यान्सरका केही छिटपुट कोशिकाहरु (जसलाई MRD अर्थात् Minimum Residual Disease भनिदो रहेछ) बाहेक डाक्टरी परीक्षणका हिसाबले मेरो स्वास्थ्य पहिलेको भन्दा पनि राम्रो देखिन्छ। शारीरिक हिसाबले पनि म राम्रै महसुस गर्दैछु। तथापि, लामो समयको किमो थेरापी र बोन म्यारो प्रत्यारोपणले थिल्थिल्याएको शरीर पहिले जस्तो त कहाँ हुन्छ र? बेला-बेलामा कमजोरी, थकान तथा स्फूर्तिहीनता महसुस हुन्छ। अब्जर्भेसन् अवधि भरि क्यान्सर सम्बन्धी औषधीहरुको प्रयोग गरिएन। समय-समयमा डाक्टर भेट र रगत परीक्षणको क्रम भने चली नै रह्यो। सय दिन पछि पुन बोन म्यारो बायोप्सी गरी क्यान्सरको स्थिति सम्बन्धी मूल्याङ्कन गरिंदो रहेछ। सोही अनुसार बायोप्सी सम्पन्न गरियो र परिणाम पनि आई नै हाल्यो। अस्पताल तथा उपचार सम्बन्धी कागजपत्रहरुमा मेरो रोगलाई “Multiple Myeloma not having reached remission” भनेर उल्लेख गर्ने गरेको हुन्थ्यो। अहिले “Multiple Myeloma in remission” भनेर उल्लेख भएको देखें। मेडिकल भाषामा यी वाक्यंशहरुको आफ्नै अर्थ होला- मैले भने हाललाई मेरो क्यान्सर निष्कृय वा सुषुप्त अवस्थामा पुगेको भन्ने बुझेको छु। सम्बन्धित डाक्टरहरुले पनि प्रत्यारोपण सफल रहेको र आशातीत परिणाम प्राप्त भएको कुरा बताएका छन्। मलाई त यो ठूलै उपलब्धि लाग्यो, तर किन हो कुन्नि, सानासाना उपलब्धिहरुमा पनि पिठ्यूँ थप्थपाउँदै बधाई तथा हौसला दिएर नथाक्ने डाक्टरहरुले यो उपलब्धिका लागि भने त्यति उत्साहजनक प्रतिकृया जनाए जस्तो लागेन।
जे होस्, अहिलेको स्वास्थ्य अवस्था प्रति म पूर्णरुपले सन्तुष्ट छु। अलि संघर्षपूर्ण नै भए पनि माइलोमा संगको यो दोश्रो राउण्डको खेल मेरै पक्षमा टुङ्गिन पुगेको छ। यसको अर्थ माइलोमा परास्त भएको वा निर्मूल भएको भन्ने होइन। यो संभव पनि छैन। तसर्थ यसलाई यथास्थितिमा राख्नु वा पुन बल्झिनबाट रोक्नु अबको चुनौति हो। यसको लागि मेन्टेनेस् थेरापीको चरण शुरु गरी सकिएको छ। यसमा दिनहू खानु पर्ने एकथरी क्याप्सुल र हरेक दुई हप्तामा लगाइने इन्जेक्सन् दुबै समावेश छन्। इन्जेक्सन् उही पुरानै रहेछ, जुन पहिले किमोको समयमा पनि लगाइएको थियो। यी औषधीहरु कहिले सम्म चालु रहने हो भन्ने कुरा निश्चित हुँदो रहेनछ। किमो समूह अन्तर्गतकै औषधी भएकोले यसका साइड इफेक्टहरु पनि झण्डै किमोकै सरह हुने रहेछन्। तसर्थ, सामान्यतयाः बिरामीको शरीरले प्रतिकूल प्रतिकृया नजनाएसम्म वा बचे-खुचेका क्यान्सरयुक्त कोशिकाहरु निर्मूल (MRD-negative)) नभएसम्म यो उपचार कायमै राखिंदो रहेछ। यस हिसाबले उपचार अलि लामै समय चल्ने कुरा स्पष्ट बुझ्न सकिन्छ र यसबाट सजिलै छुट्कारा पाइने स्थिति देखिदैन। यसैगरी, नयाँ रगत भएकोले प्रत्यारोपणको चौथो महिना देखि इम्यूनाइजेसन्को प्रकृया शुरु गरिंदो रहेछ। यसमा बाल्य अवस्थादेखिका भ्याक्सिन तथा खोपहरु सबै रहेछन्। यो प्रकृया पूरा गर्न एक वर्षको समय लाग्दो रहेछ। मैले पहिलो चरणको सुईहरु लगाइसकेको छु। डाक्टरहरुले “नर्मल” जीवन यापनका लागि कुनै बन्देज राखेका छैनन्, तर आफू “नर्मल” मानिस होइन भन्ने कुरा चाहिं नबिर्सनू भनेका छन्। यसको अर्थ, अरुलाई सामान्य ठहरिने कुरा मेरा लागि सामान्य नहुन सक्छ भन्ने मैले बुझेको छु। मलाई भने सामान्य मानिसहरु भन्दा फरक देखिन नपरे हुन्थ्यो भन्ने लाग्दछ र यो मेन्टेनेन्स् थेरापीसंगै मेरा कृयाकलापहरु पनि सामान्य रुपमै चलिरहून् भन्ने तर्फ म प्रयासरत रहने गर्दछु।
क्यान्सर रोगीलाई मात्रै हो वा सबैलाई नै यस्तै हो- त्यो त थाहा पाउन सकिन, तर मैले यहाँ बिरामीको मानसिक स्वास्थ्य प्रति निकै चासो राख्ने गरेको अनुभव गरें। उपचारको क्रममा बिरामीलाई हीनता बोध नहोस् र यथासक्य उसको वाञ्छित जीवन शैली अर्थात क्वालिटी अफ् लाइफ नबिथोलियोस् भन्ने तर्फ ध्यान दिने गरेको देखियो। विशेषतः, बिरामीको घरपरिवारको माहौल, स्याहार-सुसार तथा हेरचाहको पर्याप्तता, विरामीको दैनिकी, रोग प्रतिको धारणा, आशा-निराशा एवं चिन्ता इत्यादि विषयहरु समेटेर एउटा प्रश्नावलि नै तयार गरिएको हुँदो रहेछ। डाक्टर जचाउन जाँदा मलाई पनि हरेक पल्ट जस्तै यस्ता प्रश्नहरु गरिन्थ्यो। साथै, औषधी वितरण गर्ने फार्मेसी तथा विभिन्न सामाजिक संघ-संस्थाहरुले पनि यस विषयमा सरोकार देखाउँदा रहेछन्। शायद यो एक किसिमको अध्ययनको विषय हुन सक्छ। क्यान्सर रोगीहरुमा चिन्ता तथा नैराश्यताका लक्षणहरु विकशित हुनसक्ने भएकोले यस किसिमको प्रकृया अबलम्बन गरिएको होला भन्ने मैले अनुमान गरेको छु।
बिरामीलाई बिमारीले भन्दा बिरामी हुनुको भावले ज्यादा पिरोल्छ। त्यसैले म बिरामीपनको आभासबाट जोगिन खोज्छु। क्यान्सर रोगीको हकमा पारिवारिक एवं सामाजिक सहानुभूतिहरुको ओइरो लाग्ने गर्छ। यसले केही हद्सम्म बिरामीलाई आड-भरोसा त प्रदान गर्छ, साथसाथै बिरामी हुनुको आभास पनि दिलाई रहन्छ। यसका अतिरिक्त यति महिना वा यति वर्ष भनेर बिरामीको बाँकि जीवन तोक्ने गरिन्छ। यसैमा बिरामी लगायत परिवारजन सबै पिरोलिन थाल्छन्। तर म भने यसरी दिन गनेर जिउने पक्षमा छैन। म यति बेला भर्जिनिया वुल्फको “ Do not die before you really die” भन्ने कथन संझन्छु। साथै, एक दिन होस् वा एक दशक- बाँचुञजेल बाँच्न छोड्नु हुदैन भन्ने सिद्धान्तमै अडिग रहन खोज्छु।
हुन त आजसम्म मैले उपचारलाई लिएर कुनै दुविधा महसुस गर्नु परेको छैन र परिणामका सम्बन्धमा पनि पूर्णतया निश्चिन्त नै रहने गेरको छु। यो रोगको विषयमा थाहा पाएको दिन देखि आजसम्म म एक पलका लागि पनि विचलित भए झैं मलाई लाग्दैन। म आशावादी तथा सकरात्मक सोचका साथ कृतसंकल्पित छु। शुरुका दिन देखि नै म आफ्नो उपचार प्रति अत्यन्त उत्सुक एवं उत्साहित रहँदै आएको थिएँ। प्रत्यारोपण पछिको अब्जर्भेसन अवधिमा भने मलाई अलि बेचैनी महसुस हुने गर्थ्यो। प्रत्यारोपणको नतीजा के आउने हो र त्यस पछिका उपचार कुन रुपले अघि बढ्दै जाने हो भन्ने चिन्ताले मेरो मन पोलिरहन्थ्यो। शारीरिक कमजोरी तथा आइसोलेसन्का कारण त्यति बेला मेरा कृयाकलापहरु पनि सीमित हुन पुगेका थिए। फलस्वरुप दिनहरु पट्यारिला लाग्थे र एक किसिमको उकुसमुकुस तथा छटपटीले सताउने गर्थ्यो। जमघटका बीच पनि एक्लोपन महसुस हुने, मन कुँडिइरहे झैं हुने र चाहेर पनि रमाइलो महसुस गर्न नसक्ने जस्ता उदासीन मनस्थितिबाट म प्रभावित रहने गर्दथें । लम्बिदै गएको उपचार अवधिका कारण धैर्यहीनताको आभास हुने गर्थ्यो। यो एक किसिमको दुश्चिन्ता अथवा एन्जाइटिज्को परिणाम हो भन्ने मैले बुझेको थिएँ। त्यसैले, म अलि सतर्क भएँ। शरीर त रोगी भई नै सक्यो, तर मन रोगी बन्न दिन्न भन्ने मेरो अठोट थियो। सोही अनुसार आफ्नो सोच र व्यवहारलाई पुन ट्रयाकमा ल्याउने प्रयास गर्न थालें।
अस्पतालमा रहँदा एक पटक शरीर सबै सुन्निएको थियो। त्यति बेला आँखाको तल्लो डिल बटारिएर भित्र तिर पसेका थिए। सुजन ठीक भएपछि पनि ती आफ्नो ठाँऊमा फर्केनन्। डाक्टरहरुलाई देखाइयो। किमोका कारण यस्तो हुन सक्ने र आफैं ठीक भएर जाने कुरा बताइयो। साथै सबैजसोले बिहान-बेलुकी तातोले सेक्दै गर्न सुझाए। तर महिनौसम्म पनि ती दोब्रिएका डिलहरु ठीक ठाऊँमा आएनन्। भित्र छिरेका परेलीका रौंहरुले आँखा बिझाइरहन्थ्यो। दृष्टिमा खासै असर नदेखिए पनि आँसु आई रहने र आँखा माडिरहनु पर्ने भएकोले निकै असहज महसुस हुन्थ्यो। तीन महिना पछि भने मेरो अन्कोलोजिस्ट्ले आँखा विशेषज्ञको परामर्श लिन सुझाइन्। छोरी, जुवाइं धुइंधुइंती जचाउन जाने ठाँऊ खोज्न लागे। पहिलो कुरा त मेरो इन्सुरेन्स् मान्य हुने ठाऊँ हुनु पर्यो। त्यसपछि, परामर्शका लागि समय पाउनु पर्यो। हामी त्यसै अल्मलिन पुग्यौं। त्यति बेला श्रीमती नेपाल गएकी थिइन् र त्यतै थिइन्। मैले मेरो आँखाको फोटो खिचेर पठाएँ र त्यतै कुनै डाक्टरलाई सोधेर औषधी ल्याउनू भनी अह्राएँ। पछि भिडियो कल मार्फत डाक्टरसंगै सम्पर्क भयो र आँखा देखाइयो। मेरो यो अवस्थालाई Entropion भनिंदो रहेछ। यसका लागि मलमहरु जस्ता बाहिरबाट लगाउने औषधीले काम नगर्ने र सर्जरीको प्रकृयाले मात्र दोब्रिएको परेलीलाई मिलाउन संभव हुने जानकारी पाइयो। साथै, परेलीका रौंहरुको बिझाइले आँखामा क्षति पुग्न सक्ने भएको हुँदा उपचारमा ढीलो गर्न नहुने सल्लाह प्राप्त भयो।
यसपछि भने यसलाई गम्भीर रुपमा लियौँ। छोरीले बल्लबल्ल एक ठाउँमा अप्वाइन्टमेन्ट मिलाइन्। त्यहाँ पनि सर्जरी नै गर्नु पर्ने कुरा दोहोरियो। यस किसिमको सर्जरीलाई “ओकुलोप्लास्टिक सर्जरी” भनिंदो रहेछ। त्यसका लागि फेरि ओकुलोप्लास्टिक सर्जन खोजियो र करीब दुई महिना पछि जचाउने साइत जुर्न पुग्यो। सर्जरीका लागि फेरि अर्को दुई महिना पछिको समय दिइएको थियो, तर हप्तादिन पछि इन्सुरेन्स्ले नसमेट्ने भएकोले सर्जरीको कार्यक्रम रद्द गरिएको सूचना दिइयो। म बिझाएका आँखाहरु माड्दै फेरि अर्को डाक्टरसंगको अप्वाइन्ट्मेन्ट् पर्खिरहेको छु। हेरौं- कहिले पार पाइने हो।
यिनै दिनचर्याका साथ मेरा दिनहरु बितिरहेका छन्। रोग अलि साम्य होला र केही महिनाका लागि नेपाल जानु पर्ला भनेर अगाडि देखि नै गुनिरहेको थिएँ, तर यो मेन्टेनेन्स् थेरापीले त झन् नराम्रो संग बाँधिन पुगें। म नेपालमा यी औषधीहरुलाई निरन्तरता दिन सकिने संभावनाका बारेमा सोच्न थाल्छु। उताको बसाइ भरिका लागि यहाँबाटै औषधी बोकेर जाने भन्ने कुरा असंभव नै रहेछ। डाक्टरको प्रेस्कृप्सन अनुसारका सधैं खानु पर्ने साधारण चक्कीहरु नै पनि फार्मासीहरुले खटाइखटाई दिने गर्छन्। मलाई हरेक दुई हप्तामा लगाउने गरेको इनजेक्सन त मेरो रगत जाँचको रिपोर्ट आएपछि हस्पिटलकै फार्मेसीमा तयार गरी लगाउने गरिन्छ भने खाने गरेको क्याप्सुल पनि एक महिनालई मात्र पुग्ने गरी औषधी वितरकबाट घरमै डेलिभरी हुने गर्छ। यस हिसाबले अमेरिकामै पनि १५ दिन भन्दा बढी कतै जान-बस्न पाइने स्थिति रहेन। नेपालमा त यी औषधीहरु पाइनु पर्ने हो भन्ने आशा जाग्यो। त्यहाँ पनि बजारमा उपलब्ध नहुने तर वितरकहरुले मगाइदिन सक्ने भन्ने बुझियो। औषधी उपलब्ध भएपछि पनि डाक्टरको प्रत्यक्ष निगरानी विना प्रयोग गर्न नहुने भएकोले त्यसका लागि त्यहाँ कुनै अस्पताल वा डाक्टरसंग आवद्ध रहनु पर्यो। त्यहाँका डाक्टरहरुले यिनै औषधीहरु चलाउलान् भन्ने कुरामा विश्वस्त हुन सकिएन। फेरि अर्कै किसिमको उपचार विधि अपनाइयो भने पुन अमेरिका फर्के पछि के गर्ने भन्ने प्रश्न तेर्सिन आयो। नेपालमा क्यान्सर रोगीहरुको दशा देखिएकै छ। दिल्ली धाउन पर्दाका अनेकौ पीडादायी किस्साहरु पनि सुनिएकै विषय हो। यी सारा झण्झट बेहोरेर नेपाल जान सकिने छाँटकाँट देखिएन। रोग नियन्त्रणमा छ, शरीर तथा स्वास्थ्य दुबै सबल छन् र पनि हिंडडुल माथिको यो अस्वाभाविक बन्देज मेरा लागि नजानिदों किसिमको कैद सरह हुन गएको छ। बात-बातमा बिरामीको “क्वलिटी अफ् लाइफ्”को कुरा सुन्ने गरेको मैले डाक्टरलाई मेरो “क्वलिटी अफ् लाइफ्” खोई त भनेर सोधें। उनले कुनै ठोस उपाय त सुझाउन सकिनन् परन्तु अहिले चलिरहेको उपचारको परिणाम हेरेर बीच-बीचमा केही समयका लागि औषधी बन्द हुन सक्ने संभावना भएको हुँदा सोही समय पारेर नेपाल यात्राको योजना संभव रहने कुरा बताइन्।
आफ्नो स्वास्थ्यलाई नै जोखिममा पारेर नेपाल गई हाल्नु पर्ने खासै कारण पनि म केही देखिदैन। नागरिक उड्डयन प्राधिकरणको जागिर बाँकि नै थियो, तर निरन्तरता दिन नसक्ने कुराको जनाउ दिइसकेको छु। तत्काल निर्वाह गर्नु पर्ने अन्य जिम्मेवारी केही छैनन्। तथापि, मलाई नेपाल जानुको हुट्हुटीले बरोबर सताई रहन्छ। मानिसलाई जे छैन वा जे हुन सक्दैन, त्यसैको बढी तिर्सना हुनु स्वाभाविकै हो। तर पनि, मनमा झन्झन् गड्दै गइरहेको आफनो परिवेशसंगको भावनात्मक नियास्रोपन म नकार्न सक्दिन। परिस्थितिवश आफू यसरी टाढिनु परे पनि आफू जन्मेहुर्केको ठाऊँ र सुखदुखका मेरा अठसठ्ठी वर्षहरु मसंग अलग्गिन सकेको छैन। जिन्दगीको यो घडीमा म भन्नु नै मेरा बाल्यकालका निश्चिन्त दिनहरु, युवावस्थाका जोश-जाँगर, दायित्वपूर्ण घरगृहस्थी तथा यहाँसम्म आइपुग्दाका तीता-मीठा सङघर्षहरु हुन्। विगतको “म”बाट अलग्गिएर वर्तमानको “म” रमाउन नसक्ने रहेछ। यो स्थिति अब कहिले सम्म त? म सोच्न बाध्य हुन्छु। अहिले स्वस्थ्य तथा सबल अवस्थामा नै यस किसिमको बन्देज झेल्नु परेको छ भने पछि जटिलता थपिदैं जाँदा झन् के होला? अब यतै परिने त होइन भन्ने सोचले बेलाबेलामा अधीर हुन पुग्छु। समयको गति स्वीकार गर्नै पर्यो। हतारिंदैमा समय भन्दा अगाडि केही हुँदैन। अहिलेसम्म जे भइरहेको छ- सबै राम्रै भइरहेको छ। अब जे हुने हो- ती पनि राम्रै हुने छन् भन्ने विश्वासका साथ म मेरा दिनहरुलाई अझ रोचक तथा सुरम्य बनाउदै लाने संक्ल्प सहित अघि बढ्दैछु।
Hello….
Yur writting shows yu are winning over yur opponent…….braaaaavo
Hello…. Yur writting shows yu are winning over yur opponent…….braaaaavo
अलि लामाे उपचार हुने रहेछ । त्यहि अनुसार मानसिक र शारिरिक व्यवस्थापनमा ध्यान दिनु पर्ने रहे,छ । यसपालिकाे दशै नेपालमा हाेला नि त दाइ । इश्वरले हामी सबैकाे सदाझै रक्षा गरुन । हामिलाई आफ्नो कृपदृष्टि बाट कहिल्यै ओझेल नराखुन ।