- “ग्राण्डीदेखि फ्र्याङक्लिन्सम्म” ३
आखिर जे नहोस् भनेर अहोरात्र जप्ने गर्दथें- त्यही नभई नछोड्ने भयो। जीवन आफूले भने जस्तो वा चाहे जस्तो हिसाबले कहाँ चल्छ र? “आफू ताक्छु मूढो, बञ्चरो ताक्छ घुँडो” भने झैं जतिसुकै कोशिश गरे पनि आफू अनुकूलको परिस्थिति सृजना गर्न वा कायम राख्न नसकिने रहेछ। समय भनौं वा नियतिले जता डोर्याउँछ- त्यसैलाई आत्मसात् गर्नुको विकल्प रहँदैन। क्रोनिक ब्रोन्काइटिस्का कारण दम-खोकीबाट बुवाले भोग्नु परेको पीडा र लामो समयसम्म मधुमेहद्वारा ग्रसित आमाको अवस्थालाई नजिकैबाट नियाल्नु परेकोले होला- मेरो जीवनको डर भन्नु नै रोगजन्य अशक्तता थियो। जसबाट टाढा रहन आफूले जाने-बुझे सम्मका प्रयासहरु पनि गरेकै थिएँ। तथापि, शरीरमा कता-कताबाट यो रोग पस्न गएछ र मैले ६५ देखि ७५ वर्षसम्मको जीवनका लागि बुनेको तानाबाना नराम्रोसित प्रभावित हुन पुग्यो। बिमारीका कारणले मेरो मात्र दिनचर्या प्रभावित भएको होइन, परिवार तथा हितैषीजन सबै यसको चपेटामा छन्। मेरो हेरचाहमा श्रीमतीको रात-दिन एक हुने गरेको छ। उनका आफ्ना इच्छा-आकांक्षा र रहरका कुरा माटो मुनि गाडिइसके। केटाकेटीहरु कसरी छिटो भन्दा छिटो मलाई बिसेक पार्ने भन्नेमा चिन्तित छन्। मेरो स्वास्थ्य नै सबैको सरोकारको विषय बन्न पुगेको छ। आजसम्मको जिन्दगी राम्रैसंग बाँचियो। त्यस्तो ठूलो सोच वा जिम्मेवारी पनि केही छैन। केवल सरल र सहज ढंगले बाँकिका दिनहरु कट्दै जाऊन् भन्ने हो- जुन जसोतसो कटिरहेकै छ। तर पनि चित्त बुझाउन सकिरहेको छैन। विगत दश महिनाको अवधिमा यो रुग्ण शरीरको चाकरी गर्नु बाहेक अन्य कृयाकलाप केही हुन सकेन। भर्खरै बोन म्यारो ट्रान्स्पलाण्ट्को काम सकियो। अब तीन महिना निरन्तर निगरानीमा बिताउनु पर्नेछ। त्यसपछिका उपचारहरु कुन रुपले चल्ने हो- त्यो तय हुन सकेको छैन। उपचारका लागि विदेशी माटोमा बसिएको छ। केटाकेटी, नाति-नातिना सबै संगै छन् र हर प्रकारको सुखसुविधा पनि उपलब्ध नै छन्- तर पनि आफू र आफ्नो परिवेशको नियास्रोपन हट्न सकेको छैन। आफूले गर्छु भनेका थुप्रै कुराहरु लथालिङ्ग छन्। एक किसिमले बाँधिएर बस्नु परेको छ। थला नपर्दै यसरी निष्कृय बस्न पर्दा जीवन अर्थहीन हुँदै गएको आभाष हुन थालेको छ। “What matters is not to add years in your life, but to add life in your years” भनेर कतै पढेको थिएँ। म के गर्दैछु- आयुमा जीवन थप्दैछु कि जीवनमा आयु? निर्क्यौल गर्न सकिरहेको छैन। मल्टिपल् माइलोमाका बिरामीहरु सामन्यतया तीन देखि पाँच वर्ष बाच्ने गर्छन् भन्ने कुरा धेरै ठाँऊमा उल्लेख गरेको पाएको छु। यो तीन वर्ष नै मनग्य हुन्थ्यो यदि यस भित्र तेह्र वर्ष बराबरको जीवन समेट्न सक्ने हो भने। नभए तीसै वर्ष थपिए पनि के अर्थ रह्यो र? यसको तात्पर्य हरेक दिन चामत्कारिक उपलब्धी हासिल गर्नु पर्छ भन्ने होइन। “जी रहे तो घी पिए” भने झैं जिउन सके न केही गर्न सक्ने अवसर प्राप्त हुने हो। जीवन क्रियाशील रहनु पर्यो र आफैंमाथि वा अरुमाथि बोझ हुन भएन भन्ने मेरो मनसाय हो। त्यसैले हाललाई उपचारमै केन्द्रित रहने गरेको छु र अझै दश-पन्ध्र वर्ष पूर्ण सकृय जीवन जिउने अठोटका साथ अघि बढ्दै छु।
किमो थेरापीको चौथो महिनासम्म शरीरले राम्रै प्रतिकृया जनाएको भए तापनि पाँचौ र छैठौं महिना भने मेरा लागि अलि कष्टकर नै रहेको थियो। खान नरुच्ने, वाकवाकी लाग्ने र पेट पोल्ने समस्याले सताउन छोडेको थिएन। इण्डोस्कोपी लगायत विभिन्न परीक्षणहरु सबै गरिए र आखिर किमोकै परिणाम हो भन्ने ठहर गरियो। त्यसैले किमो चालु रहुञ्जेल यी लक्षणहरुले छोड्ने छाँटकाँट देखिएन। अब एक-दुई महिनाको कुरा त हो नि भनेर मैले त जसोतसो चित्त बुझाउने गरेको थिएँ, तर श्रीमती, छोरी तथा घरपरिवार भने मेरो अवस्था देखेर दिक्क मान्न थालिसकेका थिए। त्यसै बेला, दुबै छोरी-ज्वाइंहरु, नाति-नातिना तथा कान्छा सम्धी-सम्धिनीहरु सहित विदा मनाउन नायग्रा फल्स् तिर जाने कार्यक्रम तय भएको थियो। मलाई पनि संगै लाने मनसाय त सबैको हुने नै भयो, म पनि उत्साहित नै थिएँ। तथापि, चालु किमोका कारणले मसक्क आँट्न सकेको थिइन। भ्रमणको अघिल्लो दिन डाक्टरसंग अप्वाइण्टमेण्ट मिलाइएको थियो। छ महिनाको अनवरत किमोथेरापीबाट अपेक्षाकृत परिणाम निस्कन नसककोमा म अलि खिन्न थिएँ। मेरा लागि परम्परागत किमो थेरापीको यो विधि तत्कालका लागि प्रभावहीन सिद्ध हुन पुगेको थियो। फलस्वरुप, यही उपचार पद्धतिलाई निरनतरता दिइने संभावना थिएन। म आफैं पनि भित्रभित्रै थिल्थिल्लिसकेकोले किमोबाट केही विश्राम पाए हुन्थ्यो भन्नेमा थिएँ। उपचारका भावी प्रकृयाले कुन मोड लिने हो भन्ने दुश्चिन्ता स्वाभाविक नै थियो। मुखमा केही हिचकिचाहट सहितको रुञ्चे हाँसो लिएर डाक्टरको व्यग्र पर्खाईमा थियौं- हामी दुई बाबुछोरी। “बधाई छ, हामी किमो बन्द गर्दैछौं। अब केही समय आराम गर्नुहोस्” – भन्ने घोषणा सहित डाक्टरको प्रवेश भयो। छोरीको मुख धपक्क बल्न पुग्यो। खुशीले ओठ च्यातिएर कानसम्म पुगेको कसैबाट छिप्न सकेन। सानासाना कुराले त्यसै-त्यसै फुरुङ्ग पर्ने मेरी छोरीको अनुहारको रङगरोगन देखेर वरिपरिका सबै तीन छक परे। मेरो छाती पनि आकाश पाताल ढाकिने गरी फैलिए जस्तो भयो। क्यान्सर विरुद्धको यो प्रथम चरणको संघर्ष कत्तिको सफल वा असफल भयो- त्यसको लेखाजोखा त बाँकि नै थियो, तर त्यति बेला छोरी यति धेरै खुशी भई कि हजार जिब्रा भएका शेषनागले पनि वर्णन गर्न नसक्ने भने झैं उनको त्यो प्रफुल्लता अवर्णनीय नै रह्यो। समयक्रममा विभिन्न परीक्षणहरु हुँदै गए। किमोले क्यान्सरयुक्त कोशिकाहरुलाई शून्यमा झार्न नसके पनि Bone Marrow Biopsy को नतिजाले मेरो ७०% को पूर्ववत् आँकडा ५% मा सीमित रहेको देखियो- जसलाई सामान्यतया सन्तोषजनक उपलब्धिको रुपमा ग्रहण गरिने रहेछ।
अमेरिका जस्तो ठाऊँ- गतिशील तथा चुस्त कामकारवाही। तीन-चार महिना सम्ममा त मेरो उपचारको पहिलो खुड्किलो कसो नकट्ला भन्ने लागेको थियो र दशैं अघिसम्म नेपाल फर्किने मनसाय पनि बनाएको थिएँ। तर किमोथेरापीको यो क्रम नै २५ हप्ता सम्म जारी रह्यो। अब Bone Marrow Transplant को तयारीका लागि करीब ४ हप्ताको समय बाँकि थियो। छोटै समयका लागि भए पनि किमो विनाको स्वच्छन्द जीवन जिउन पाइने कुराले म त उत्साहित हुने नै भएँ- मेरो किमो थेरापी केही समयका लागि बन्द हुने कुरा घर परिवारका लागि पनि ठूलो पर्वको विषय बन्यो। सबैजना खुशी। म आकर्षणको केन्द्र बन्न पुगें। सबै तिर मेरा प्राथमिकताहरुले प्रश्रय पाउन थाल्यो। उता घर परिवारका तर्फबाट देवीदेवता भाकल देखि थरिथरिका पूजा-प्रार्थना जारी रह्यो। यता मेरो रुचि अनुसार बडो धूमधामका साथ यात्राका कार्यक्रमहरु तय गरिए। सबैतिरबाट सद्भाव तथा सहानुभूतिको वर्षा हुन थाल्यो। भित्र-भित्रै खुशी लागे पनि मायाको यो भूमरी मेरा लागि कहिलेकाहीं अलि असहज हुने गर्थ्यो। “यसको अब कति नै बाँकि छ र?” भनेर यी सब गरिएका त होइनन् भन्ने सोचले म बेलाबेलामा रिंगिने गर्दथें। मैले भविष्यको चिन्ता गर्न छोडिसकेको थिएँ, परन्तु आज कसरी रमाउने भन्ने कुरा मेरो प्राथमिकतामा पर्ने गर्थ्यो। तीन जना नातिनातिना, छोरी-ज्वाई, आदरणीय सम्धिसम्धिनी सबै गरेर ११-१२ जनाको समूह बन्यो। बिरामी, केटाकेटी, सबैको आ-आफ्नो आवश्यकता अनुसारको आहारविहार इत्यादि सबैलाई ध्यानमा राखी मनमौजी हिसाबको कार्यक्रम तय गरिएको थियो। किमो नलगाएको आभाषले हो कि, म पनि अपेक्षाकृत हिसाबले निकै फुर्तिलो रहें। जिन्दगी हाँसीखुशी त हो नि भन्ने भावानाले ओतप्रोत हामी सबै निकै मस्त रह्यौ। रमाइलोका लागि कुनै कसर छोडिएन। त्यसैताका, सम्धीनीज्यूका भाइको अकल्पनीय देहावसानका कारण असहज परिस्थितिको सामना गर्नु परेको थियो। कुरा नगरौं भन्दाभन्दै पनि बेला-बेलामा यो बज्रपातको कुरा उठ्थ्यो साथै मेरो विमारी सम्बन्धी प्रसङ्ग पनि। हामी बडो दार्शनिक हिसावले दुखसुखका कुराहरु साटासाट गर्थ्यौं। जिन्दगीका घामछाया बीचका यस्तै तीता-मीठा आत्मीय अनुभूतिहरु संगै समग्रमा यो भ्रमण अत्यन्त संस्मरणीय रह्यो।
भन्दाभन्दै चार हप्ता मध्यको एक हप्ता बितेको पत्तै भएन। Bone Marrow Transplant को प्रकृया संघारमै आइसकेको थियो। म अझै पनि सबैको नजरको केन्द्रविन्दुमै थिएँ। ख्वाएर-पिलाएर बलियो बनाउनु पर्छ भन्नेमा सबैको एक स्वर हुन्थ्यो। मलाई नै ख्वाउनका लागि खसी काटे। पोका-पोका लोकल कुखुराको व्यवस्था भयो। आफ्नो अरुचि तथा वाकवाकी भने आफैंसंग थियो। बजार लाने र चाहिएको छैन भन्दाभन्दै पनि लुगा-फाटा लगायत उपहारहरु किनिदिने होड नै चल्यो। कहिलेकाहीं त रुनु न हाँस्नु हुन्थ्यो। म मेरो भावी उपचार प्रति पूर्ण रुपले निशङ्क नै थिएँ- तथापि पर्सिनु अघिको बोकालाई सिंगार-पटार गरेर माल्पुवा-पुरी कोच्याए जस्तो व्यवहारले मलाई झ्रर्को लाग्थ्यो। यिनै हत्केलामा खेलाएर हुर्काइएकाहरु बीच अहिलेको आफ्नो यो निरीहपन जतिसुकै प्रयास गर्दा पनि मेरो अहंका लगि सुपाच्य हुन सकेन। तर के गर्नू? कुकुर भुक्दै गर्छ, हात्त्ती लम्किदै गर्छ भने जस्तै गरी म दृढ निश्चयका साथ Bone Marrow Transplant का लागि आवश्यक उर्जा संकलन गर्ने क्रममा लागिरहें।
क्यान्सर रोगको विषयमा केही कुराहरु सुनियो, केही बुझियो पनि। संक्षेपमा भन्नु पर्दा यसको उपचारमा तीन प्रकारका प्रविधिहरु प्रयोग हुने कुरा उल्लेख भएको पाएँ। पहिलो Slash अर्थात सर्जरी, दोश्रोमा Burn अर्थात रेडियो थेरापी र तेश्रो Poison वा किमोथेरापी। मेरो केशमा शरीरमा कतै ट्यूमर विकशित नभई सकेकोले पहिलो दुई प्रकारको प्रकृयाहरु अपनाउनु परेन र सोझै किमोथेरापीबाटै उपचार शुरु भयो। “विषस्य विषमौषधम्” भने झैं किमोथेरापी विषादिमै आधारित उपचार विधि रहेछ जसले शरीर भित्रका क्यान्सरयुक्त कोशिकाहरुलाई नष्ट गर्ने वा फैलिन नदिने काम गर्दो रहेछ। यसरी नष्ट गर्ने क्रममा शरीरका सद्दे कोशिकाहरुलाई पनि क्षति पुग्ने नै भयो। साथै यसका विषादिहरुबाट शरीरका समग्र प्रणालीहरु पनि स्वतः प्रभावित हुने नै भए। तसर्थ, यो उपचार विधि विरामीको शरीरले थेग्न सकुञ्जेल मात्र उपयुक्त मानिदो रहेछ। किमो संगसंगै क्यान्सरयुक्त कोशिकाहरुलाई नै लक्षित गरी त्यसको रोकथाम तथा शरीरको प्रतिरक्षात्मक शक्ति अभिवृद्धि गर्न इम्युनोथेरापीको समेत प्रयोग गरिएको थियो। । किमोका असरलाई थेग्न स्टेर्वाइड लगायत विभिन्न किसिमका अन्य औषधिहरुको प्रयोग पनि प्रचुर मात्रामा गरियो। एउटा निश्चित अवधिसम्मको किमोथेरापीले क्यान्सरयुक्त कोशिकाहरुलाई निर्मूल पारे पनि वा नपारे पनि यसको दोश्रो चरणको उपचार Bone Marrow Transplant (जसलाई Stem Cell Transplant पनि भनिदो रहेछ) का सम्बन्धमा छलफफल हुँदो रहेछ। Bone Marrow Transplant को उपादेयता अझै पनि स्थापित भई नसकेको कारणले यो पूर्णतया बिरामीको स्वेच्छाको विषय रहेछ। यसबाट आयु वृद्धिको कुनै ग्यारेण्टी नभएको, तर क्यान्सरको निर्मूलीकरण (Remission) मा केही सहयोग पुग्न सक्ने र केही हद्सम्म यसको पुनरावृत्ति (Relapse) पछाडि धकेलिन सक्ने संभावना भने रहेको कुरा मलाई शुरुमै बताइएको थियो। बुझ्दै नबुझीकनै म Bone Marrow Transplant का लागि पहिले देखि नै तयार थिएँ। परिस्थिति अनुकूल रहेको अहिलेको अवस्थामा यो प्रकृया नअपनाएर फेरि कहिलेका लागि पर्खनू? फाइदा-वेफाइदा जे भए पनि आफूले अवलम्बन गर्नु पर्ने कुनै पनि उपचार पद्धति बाँकि नराख्ने कुरामा हामी सबै सहमत थियौं।
Bone Marrow Transplant का स्थापित उपादेयताहरुको तुलनामा यो प्रकृया अलि जटिल एवं जोखिमयुक्त भएको हुनाले बिरामीको आफ्नो छनोटको विषय भए पनि चिकित्सकीय हिसाबले सबैका लागि उपलब्ध नहुने रहेछ। प्रथमतः बिरामीको उमेर, शारीरिक तथा मानसिक स्वास्थ्य अवस्था यसका लागि प्रमुख मापक रहेछन। साथै, बिरामीको व्यक्तिगत आत्मबल तथा जीवन प्रतिको दृष्टिकोणको पनि मूल्याङ्कन गरिंदो रहेछ। सोही अनुसार मेरो पनि टाउकोको टुपी देखि खुट्टाको नङ्सम्म विभिन्न परीक्षणहरु गरियो र अनततोगत्वा म यसका लागि योग्य ठहर्याइएँ। छ महिनाको किमो पश्चात् पनि मेरो क्यान्सर निर्मूल अर्थात् रेमिसनमा नगएकोले मेरा लागि चालु किमो थेरापी एक हद सम्म निष्प्रभावी सिद्ध भइसकेको थियो। त्यसैले पनि Bone Marrow Transplant को नियतिबाट पछि हट्ने कुरो भएन। दिन बित्दै जाँदा प्रत्यारोपणको सहमति पत्रमा हस्ताक्षर गर्ने दिन आयो। यसका लागि विविध चिकित्सक तथा विज्ञहरु सम्मिलित Transplant Team नै खडा गरिदो रहेछ। म ढुक्क नै थिएँ। तथापि यस विषयमा पुन एकपल्ट व्यापक छलफल भयो। बिरामी तथा बिरामी स्याहार्ने दुबैले डेढ-दुई घण्टाको औपचारिक कक्षामै सामेल हुनु पर्ने रहेछ। जोखिम तथा असफल प्रत्यारोपणका कुराहरु फेरि पनि उठे। संक्रमणगत जटिलतालाई व्यवस्थापन गर्न नसके एक-दुई प्रतिशतसम्म मृत्युवरणको समेत सम्भावना रहेको कुरा स्पष्ट रुपले सम्झाइयो। “एक-दुई प्रतिशत” भनेको के हो भनेर सोधें। बाल्टीमोर बजारको सडकमा सवारीले ठक्कर दिएर ज्यान गुमाउने जस्तै हो भनियो। मनमा अलि चीसो पसे पनि डर भने पटक्कै लागेन। बिरामीलाई सुसूचित गर्नु पर्ने स्थापित मान्यता एवं कार्यविधि अनुसार नै यी कुराहरु भएका होलान् भन्ने सोचें र खुशी-खुशी सहमतिमा हस्ताक्षर गरें। २०२४ अगस्त ५ तारिखका दिन अस्पताल भर्ना हुने कार्यक्रम तोकियो।
बोन म्यारो प्रत्यारोपण दुई प्रकारको हुँदो रहेछ। Autologuous र Allogenic। Autologuous भन्नाले आफ्नै रगतको Stem Cell सङकलन गर्ने, भण्डारण गर्ने र अत्युच्च मात्राको किमो लगाए पछि सोही सेललाई पुन प्रत्यारोपण गरिने भन्ने बुझियो भने अन्य दाताहरु बाट प्राप्त सेलको प्रयोग भने Allogenic प्रकृया अन्तर्गत पर्दो रहेछ। मेरो लागि Autologuous प्रकृया तय भएको थियो। रगतमा पर्याप्त मात्रामा Stem Cell उपलब्ध होस् भनेर जुलाई १९ तारिख देखि छ दिनसम्म लगातार इन्जेक्सन लगाइयो। त्यसपछि जुलाई २३ तारेखका दिन प्रथमतः दाहिने घोक्रो मुन्तिरबाट धमनीसम्मा पुग्ने गरी दुईवटा पाइप (central venous catheter) जडान गरियो। जुलाई २५ का दिन बिहान ७.३० बजे देखि दिउसो ३.३० बजेसम्म ८ घण्टा लगाएर Stem Cell सङकलन गर्ने कार्य सम्पन्न भयो। कसै-कसैका लागि दुई दिन लाग्न सक्ने भए पनि एकै दिन लक्षित परिमाण प्राप्त हुन सकेकोमा म बधाईको पात्र बन्न पुगें। भित्र-भित्रै खुशी लाग्यो। साथै आत्मबल बढेको महसुस गरें। त्यसपछिको दुई हप्ता छातीमा जडित central line को समुचित सरसफाई तथा स्याहार लगायत आफ्नो स्वास्थ्य अवस्थाको अनुगमन गर्नु पर्ने थियो- गरियो पनि।
अगस्त ५ तारिख- अस्पताल भर्ना हुने दिन। म बिहानै देखि उत्साहित थिएँ। चिटिक्क परें। बिबाहको लामो कार्यक्रममा सामेल हुन जान लागे जस्तो गरी दिनहूँ फेरफारका लुगाफाटाहरु सहित अन्य आवश्यक सरसामानहरु ठीक पारें। अण्टार्टिकामा पिकनिक मनाउन जान लागेको हो कि भने जस्तो गरेर घरपरिवारबाट खानेकुराहरुको झोला तयार गरिएको थियो। सामान्यतया तीन हप्तासम्मको अस्पताल बसाइ हुन सक्ने कुरा बताइएकोले होला- गञ्जी र कट्टुका भरमा गए पनि हुने ठाउँमा डेरा सरे जस्तै गरी अस्पताल गइयो र भर्ना भइयो।
बाल्टिमोर शहर बजार बीचोबीच अवस्थित युनिवर्सिटी अफ् मेरिल्याण्ड् मेडिकल् सेण्टर। मुख्य बिल्डिङ्ग्को एउटा ब्लकको नवौं तलामा रहेको बोन म्यारो ट्रान्सप्लाण्ट् युनिट। भर्ना हुनु केही दिन अघि नै उपलब्ध सेवा-सुविधा लागायत अस्पतालको बसाइका बखत विरामीले आफ्नो तर्फबाट पालना गर्नु पर्ने आचारविचार सम्बन्धमा जानकारी दिन सो युनिटको परिचयात्मक भ्रमण गराइसकिएको थियो। तर किन हो, आज मुख्यद्वारबाट पसे देखि नै सबै कुरा नौलो-नौलो लाग्यो। बेला-बेलामा श्वास लामालामा हुन्थे र जिउ सिरिङ्ग्-सिरिङ्ग्। ट्रान्सप्लाण्ट् युनिट भित्र छिर्ने बित्तिकै ६-७ जना नर्सहरुको उपस्थिति सहितको नर्सिङ्ग् स्टेशन थियो। युनिटमा बिरामीका लागि १६ वटा कोठा रहेछन् जुन सधैं जसो भरिभराउ नै हुने गर्दो रहेछ। मलाई मेरा लागि छुट्याइएको कोठामा लगियो। ढोकाबाट छिर्ने बित्तिकै दायाँ तिर वाथरुम तथा बायाँ तिर कम्पुटर स्क्रीन जडित नर्सहरुको वर्क् स्टेशन्। कोठाको मध्य भागमा पश्चिम-पूर्व गरेर सफा सेता तकिया तथा तनक्क सित कसिएको तन्ना सहितको बिरामीको बेड। ऊनी-सुती मिश्रित ओढ्ने। बायाँ तिर साइड टेबल। अगाडि बिरामीको राखन-धरनका लागि दराज सहित खुला र्याक। टीभी। आगन्तुकका लागि दुईवटा कुर्सी जस मध्ये एउटालाई पूरै ढल्काएर सुत्न मिल्ने बनाउन सकिने। सबभन्दा राम्रो कुरा पूर्व-दक्षिण मोहडाको पूरै भित्ता भरिको शीशाको झ्याल। बाहिर निकै टाढा सम्मको दृश्य देखिने। झ्यालै नभएका र कुचुक्क परेका कोठाहरु नभएका होइनन्, तर मेरा लागि दिन भरि जस्तै घाम लाग्ने फराकिलो कोठा जुर्न गएकोमा आफूलाई भाग्यशाली सम्झिएँ। संक्रमणको जोखिमका कारण युनिटबाट बाहिर निस्कने अनुमति थिएन- त्यसैले अस्पतालको बसाइ भरि खुला हावामा श्वास फेर्न भने नपाइने भइयो भनेर अलि उकुसमुकुस्सिएँ ।
कोठामा उपलब्ध सुविधा तथा उपकरणहरुको प्रयोग विधि सम्बन्धमा नर्सहरुले पुन एक पल्ट सबै कुरा बताए। कुरैकुरामा “यहाँ तिम्रो पुनर्जन्म हुनेछ र अबदेखि तिमी वर्षमा दुईवटा जन्मदिन मनाउने छौ” भने। मलाई यो के भनेको होला जस्तो लाग्यो। पुनर्जन्म नै भन्नु पर्ने जस्तो सकसपूर्ण परिस्थितिको विषयमा पहिले त कसैले केही भनेको थिएन, न मैले नै केही कल्पना गरेको थिएँ। भित्रको रगत सबै फेरिएर नयाँ बन्ने भएकोले होला यसो भनेको जस्तो लाग्यो। जे होस्, अब तीन हप्ता जतिलाई मेरो ठाउँ-ठहर यही हो भन्ने सोचेर शान्त र स्थिर मनले वरिपरिका वस्तुहरुको मुआयना गर्न थालें।
एक हिसाबले अस्पताल बसाइको यो मेरो दोश्रो अनुभव हो। अस्पतालका तौरतरिका तथा बन्दोबस्त सबैतिर उस्तै-उस्तै हुने भए पनि स्थापित कार्यविधि तथा सक्षम कार्यान्वयनले सेवाहरुको गुणस्तर निर्धारण गर्ने गर्छ। अस्पताल बसाइको यस अवधिमा मैले उपभोग गरेको सेवा-सुविधाको सविस्तार व्याख्या गर्दा अतिशयोक्ति होला कि भन्ने हिसावले प्रसंगवश उल्लेख गर्दै जाउँला- तर पनि मलाई प्रदान गरिएको सेवा-सुविधा तथा सामग्रीहरुको सहज एवं प्रचुर आपूर्ति देखेर म आश्चर्यचकित भएँ नै, बेलाबेलामा त आफैंलाई अलि अप्ठ्यारो समेत महसुस हुने गरेको कुरा भने नबताई रहन सकिन। मुख्य कुरा अस्पताल भर्ना भइसके पछि मैले मेरो उपचार तथा स्वास्थ्य अवस्था विषयमा सामान्य जिज्ञासा राख्ने बाहेक अन्य कुनै झण्झट बेहोर्नु परेन।
अस्पताल भर्ना भएकै दिन हाई-डोज किमो लगाउने कार्यक्रम थियो। सोही अनुसार मध्याह्न पश्चात् सम्बन्धित स्वास्थ्यकर्मीहरु उपस्थित भए। किमोको जोखिम तथा दुष्प्रभाव बारे फेरि एकपल्ट सविस्तार व्याख्या गरियो र मेरो मौखिक स्वीकृतिमा किमो लगाइयो। मैले तत्कालका लागि कुनै खास अन्तर महसुस गरिन। किमोका लागि आउने-जानेहरुले पनि त्यही पुनर्जन्म तथा दुई वटा जन्मदिनको कुरा दोहोर्याए। बिरामीलाई हौसला दिइएको हो कि त्रास देखाइएको हो-बुझ्नै सकिन। मन फेरि केही तरङ्गित भयो र पुन स्थिर बनाउने प्रयासमा लागें।
हाइ डोज किमोको भोलि पल्ट पूर्ण विश्रामको दिन थियो। त्यसपछि दुई दिन लगाएर दुई हप्ता अघि संकलन गरिएको Stem Cell प्रत्यारोपण सम्पन्न गरियो। कुनै जटिलता आएन। न कुनै गम्भीर साइड इफेक्टहरु नै देखियो। सबैले “ यू डिड् वेल्, कङ्ग्र्याचुलेशन” भने। हुन त प्रत्यारोपणको चौथो-पाँचौ दिन देखि यसका असरहरु देखिदैं जाने र एघारौं-बाह्रौं दिनसम्मको अवधि जोखिमका हिसाबले अलि संवेदनशील हुने तथा बिरामीका लागि पनि केही कष्टकर हुन सक्ने कुरा पहिले नै बताइएको थियो। सोही अनुसार ममा पनि विस्तारै परिवर्त्तन आउन थाल्यो। प्रथमतः रौंहरु झर्न थाले। रुचि शून्यमा झर्यो। कमजोरी तथा थकानले गाँजिदै गएँ। रक्त-तत्वहरु (Blood Counts) समुद्री ज्वार-भाटा सरह तल माथि हुन थाल्यो। साथै कलेजो, मृगौला जस्ता भित्री अवयवहरुको कार्य क्षमता पनि प्रभावित हुंदै गयो। यी सबै प्रत्यारोपण पछिका अपेक्षित परिणामहरु नै थिए- त्यसैले यसलाई गम्भीरतापूर्वक लिनु पर्ने कारण केही थिएन। सामन्यतया अन्य नतिजाहरु भने सन्तोषजनक नै थिए। रुचि भए पनि नभए पनि मैले प्रायजसो अस्पतालले दिएकै खाना खाने गरको थिएँ। तर एक दिन मुख फेर्नका लागि घरबाट ल्याएको अलिकति जाउलो खाएँ। मलाई एकाएक आँउ परे जस्तो गरी पखाला शुरु भयो। पेटको पुरानो दुखाइ त कायम नै थियो- अब भने असह्य हुन थाल्यो। किमो तथा प्रत्यारोपण पश्चात्को अवस्थामा पखाला लाग्नु पनि स्वभाविकै मानिदो रहेछ र त्यसैले यसलाई पनि सामान्य रुपमै लिइयो। म भने निरन्तर गल्दै गएँ। पखालाले उग्ररुप लिंदै गयो। खाट छेउ जोडेर राखिएको कमोडसम्म पनि पुग्न गाह्रो भयो। दुखाइ चरम विन्दुमा पुग्यो। कम हुने गुञ्जायस कतै देखिएन। दिसासंगै तारन्तार रगत जान थाल्यो। त्यस पछि मात्र पेट दुखाइ तथा पखालाको अरु नै केही कारण छ कि भनेर खोतल्न थालियो। नभन्दै ई-कोली (E-coli) व्याक्टेरियाको संक्रमण पुष्टि भयो र मेरो उपचारले अर्कै जटिल मोड लिन पुग्यो।
मलाई कुनै संक्रमणले छुने छैन र म सहजै यो बोन म्यारो ट्रान्स्प्लाण्ट् पार लगाउनेछु भन्नेमा म विश्वस्त थिएँ। तर हाड-मासुको यो शरीर व्यक्तिगत विश्वासले भन्दा पनि रासायनिक सन्तुलनले चल्ने रहेछ। एक त क्यान्सर बिरामीमा रोग प्रतिरोधात्मक शक्ति त्यसै पनि क्षीण हुन्छ- त्यसमा पनि प्रत्यारोपण पश्चात्को यो बेला रगतको श्वेत कोशिका (White Blood Cell) शून्यमा झर्ने भएकोले सामान्य किसिमको संक्रमण पनि घातक सिद्ध हुने रहेछ। तसर्थ, पहिलो प्राथमिकता भन्ने नै संक्रमणबाट जोगिने र जोगाउने हो। दुर्भाग्यवश म भने संक्रमणबाट जोगिन सकिन र अनावश्यक दुख भोग्न वाध्य भएँ। प्रत्यारोपण पूर्व विविध परीक्षणहरु गर्दा यो पेट सम्बन्धी परीक्षण किन नगरिएको होला भन्ने लाग्यो। तर अब के नै गर्न सकिन्थ्यो र? संक्रमणको सामना गर्नुको कुनै विकल्प रहेन भन्ने सोचेर एक पल्ट फेरि आफूलाई सशक्त तथा दृढ बनाउन तिर लागें।
संक्रमण व्यवस्थापनका लागि एण्टीबायोटिक लगायत केही नयाँ औषधिहरुको प्रयोग शुरु गरियो- तर तत्काल सुधार आइहाल्ने अवस्था थिएन। व्यथा झन् बढ्दै गयो। आमाशय तथा आन्द्राका पत्रहरु खुत्लिसकेका रहेछन्। भित्र कतै केही फुटिसकेको (Perforation) पो छ कि भनेर शंका गरियो। दिसा थामी नसक्नु भयो र डाइपरमै हुन थाल्यो। साह्रै सिकसिको लाग्थ्यो र तुरुन्तै सरसफाई गरी हाल्ने प्रयास गर्थें। पछि त दिशा गएको पत्तै नहुने भयो। चार-पाँचवटा आई. भी. लाइनले जेलिएको कारण म केही गर्न सक्ने अवस्थामा थिइन। प्राय जसो छोरी स्नेहा वा भतिजी वर्षा म संगै हुने गर्थे। उनीहरुले नै ओढ्ने पञ्छाएर हेरिदिने, सफा गरिदिने वा नर्स बोलाइदिने गर्थे। नर्सिङ्ग् सेवा पनि साह्रै चुस्त थियो। लड्ला-पड्ला भनेर बिरामीलाई “आफैं उठ्न नखोज्नू, बटन थिची हाल्नू” भन्ने सूचना ठाऊ-ठाऊँमा टाँसिएको थियो। हुन पनि बटन थिच्न नपाई तुरुन्त उपस्थित हुन्थे। फोहोर पुछ्पाछ गरिदिने, डायपर फेरिदिने इत्यादि यावत् कार्य अत्यन्त सुरुचिपूर्ण ढंगले सम्पन्न गर्थे। कहिल्यै कसैबाट झारा टार्ने जस्तो व्यवहार भएन, न कसैको नाक नै खुम्चिएको देखियो। हरेक दिन बिहानको नुहाइ-धुवाई पनि उनीहरुकै जिम्मेवारी थियो। कहिल्यै कतै झर्को-फर्को महसुस गर्न परेन। कर्त्तव्य वोध तथा उत्तरदायित्व निर्वाहको यो अनुपम उदाहरणबाट म अत्त्यन्त प्रभावित हुने गर्थै। यसैगरी, जतिसुकै कष्ट सहनु परे पनि यस किसिमको सेवा उपभोग गर्न पाउनु मेरा लागि ठूलो सन्तोषको विषय बन्यो। साथै नर्स्हरुको व्यावसायिक कुशलता, संवेदनशीलता तथा सौजन्यतापूर्ण व्यवहार प्रति म भित्रभित्रै अनुगृहीत महसुस गर्ने गर्थैं।
जसले जे गरिदिए पनि म भने पटकपटक फहोरको आहालमा डुबेर बस्न वाध्य हुन्थें। नरक भोग भनेको यही रहेछ कि भन्ने लाग्थ्यो। हेर्दाहेर्दै शरीर विस्तार सुन्निन थाल्यो। खुट्टा हात्तीका पाइला जस्ता भए। पेट फुकेको बेलुन जस्तो। शरीरमा पानी फैलिन दिनु भएन भनेर पानी निकल्नका लागि नाकबाट नली छिराइयो। दुबै नारीमा आई. भी. लाइन्, छातीमा सेण्ट्रल क्याथेटर तथा पोर्टेबल हार्ट् मोनिटर र नाकको नाथ्रीले म चलहल गर्न नमिल्ने गरी बाँधिए। खाना त निकै अगाडि देखि नै बन्द भइसकेको थियो- अब पानीमा पनि पूर्ण बन्देज लाग्यो। यहाँसम्म कि पानीले निल्ने गरिएका औषधिहरु समेत नशाबाट चढाउन थालियो। मुख सुकेर गाला एकआपसमा टाँसिन थाले। जिब्रो पिठोको डल्लो जस्तो भयो। उता दुखाइ रकेट अकाशिए झैं गरी अकाशिदैं थियो। मैले कतै कुनै त्राण पाउन सकिन। त्यतिबेला मलाई नर्स्हरुले भनेको पुनर्जन्मको कुरा संझना भयो। म अनायसै आमाको गर्भमा रहेको कल्पनामा रङग्मङ्गिन पुगें। गर्भको बालक झैं म पनि एउटै डल्लो परिसकेको थिएँ। गर्भको बालकलाई के कति चेत हुन्छ र त्यसले के कति पीडा महसुस गर्छ वा गर्दैन- त्यो त म भन्न सक्दिन, तर मलाई भने जीवन सङ्घर्षको यो पीडा अत्यन्त कष्टकर वोध भयो। र लाग्यो- जीवनरुपी यो घाँडो धान्न पनि त्यति नै मुश्किल, बिसाउन पनि त्यत्तिकै गाह्रो।
प्लाष्टिकका नलीहरुले जेलिएको कमजोर शरीर लिएर म मूढो लडे झैं गरी लडी नै रहें। आठ-दश इञ्चको परिधि भित्र मडारिनु बाहेक मैले गर्न सक्ने अरु केही थिएन। नर्स्हरुले आएर लाइन नछुटाइकन चलहल गर्न नमिल्ने। पाँच दिन पछि नाकको पाइप निकालियो र केही सञ्चो महसुस गरें। पीडा शमनका लागि ओपिवाइड् तथा मर्फिन जस्ता औषधिहरुको प्रयोग हुँदै गयो। शरीरको दुखाई संगै ती औषधिहरुको प्रभावले मेरो चेतनाको स्तर खस्किन थालेको थियो। दिमाग ढकनी लगाएर बन्द गरिएको रित्तो भाँडो जस्तो हुथ्यो। वरिपरिका दृश्यहरु कुहिरोले छोपे जस्तो । विचारहरु श्रृङ्खलाविहीन। विशेषगरी, अनेक किसिमका विभ्रमहरु (hallucination) उत्पन्न हुन थाल्यो। आँखा अगाडी काला-नीला डरलाग्दा आकृतिहरु घुमिरहन्थे। कानमा कसैले केही भने जस्तो वा बोलाए जस्तो आवाज गुञ्जिरहन्थ्यो। बेलाबेलामा बर्बराउन पनि थालें। यस्ता लक्षणहरु राम्रा होइनन् भन्ने कुरा मैले मेरो जीवनका केही परिघटनाहरुबाट अनुभूत गरिसकेको थिएँ। त्यसैले त्यो तन्द्रापूर्ण अवस्थामा पनि म यथासक्य सजग रहन खोज्थें र वुद्धिलाई एकत्रित गरी वरिपरिका वास्तविक परिस्थितसंग तादात्म्यता राख्ने प्रयास गर्दथें।
यस्तै अर्धचेत अवस्थामा झण्डै १५ दिन जति गुजारियो। खासै केही सुधार हुन सकेन। एक्स्-रे तथा स्क्यानिङ्ग् निरन्तर चली नै रह्यो। दिनहूँ रगत जाँचिन्थ्यो र असन्तुलित तत्वहरुलाई सन्तुलनमा राख्ने बाहेक यो अवधिमा खासै काम भए जस्तो लागेन। अमेरिकामा पेट सम्बन्धी रोगको उपचार राम्रो नहुने रहेछ कि भन्ने पनि लाग्यो। कतै पार लागाउदैनन् कि भन्ने आशंकाले यदाकदा विचलित हुन थालें। दुखाई चरमोत्कर्षमै थियो। मैले दुख्नु र नदुख्नु बीचको अन्तर महसुस गर्न छोडिसकेको थिएँ। यो भन्दा बढी दुख्ने भनेको कस्तो हुँदो रहेछ त भन्ने लाग्थ्यो। एकदुई पटक आफ्नै नारी टोकेर हेरें। केही पत्तो पाइन। अलि राम्रै चोट पुर्याउन सके अहिलेको दुखाइ थोरै भए पनि ओझेलमा पर्थ्यो कि भन्ने थियो। कोठामा भएका सरसामानहरु संझिदै गएँ। बेड छेउको टेबलमा साना-साना दुईवटा सर्जिकल कैंचीहरु राखिएको थियो। छाम-छाम छुमछुम पारें। तर भेट्टाउन सकिन। काटकुट गर्न पर्ला कि भनेर घरबाट एउटा ससानो चक्कु पनि ल्याइएको थियो। तर उठेर खोज्न सक्ने स्थिति थिएन। हातले भेटिने ठाँउमा कतै बिजुलीका नाङ्गा तार वा सकेटहरु केही छन् कि भनेर आँखा घुमाएँ। त्यस्तै भित्ता भरि फैलिएको शीशाको झ्याल फुटाउन पाए त्यतैबाट केही निकास निस्कन्थ्यो कि जस्तो पनि लाग्यो। यी सब कुराहरु असहनीय छट्पटीका नमूना तरङ्गहरु मात्र थिए। म भने जीवन प्रति पूर्ण सकरात्मक नै थिएँ र यो संघर्ष पार लगाएरै छोड्छु भन्नेमा पूर्णतया दृढ।
छेउको कुर्सीमा थकित अनुहार लिएर कान्छी छोरी पल्टिरहेकी थिई। मैले बोलाउन उचित ठानिन। नर्स्का लागि घण्टी थिचें। तुरुन्तै हाजिर पनि भइन्। मैले मेरो दुखाइ सम्बन्धमा बेलिबिस्तार लगाएँ र नदुख्ने औषधिका लागि याचना गरें। उनले बडो विनयशीलता पूर्वक “दुई घण्टा अगाडि मात्र खाएकोले अहिले खान हुँदैन” भन्ने कुरा सम्झाइन्। बरु उनको अनुभवमा भएका म जस्तै अन्य बिरामीहरुको कठिनतम अवस्थाका किस्साहरु सुनाउन थालिन्। मलाई नजानिंदो हिसाबले ठूलो हौसला प्राप्त भयो। त्यो दिन श्रीकृष्ण जन्माष्टमी थियो। मैले पनि भगवान्को जन्म, गर्भबाट झर्ने बित्तिकै आमासंग छुट्टिनु परेको, र जीवन रक्षार्थ अनेकन विषम परिस्थितिहरुसंग जुध्नु परेको प्रसंगहरु सुनाएँ। कुरैकुरामा जीससको जन्म र संघर्षका कुराहरु पनि मिसिए। निष्कर्षमा, शरीर धारण गरेर जन्म लिए पछि ईश्वर स्वयं पनि यी कष्टभोगबाट उम्किन नसक्दा रहेछन् भन्ने मान्यता स्थापित भयो। मैले पनि हार नमान्ने र लडेरै छोड्ने आफ्नो प्रण पुन दोहोर्याएँ।
त्यो दिन अन्य दिनको तुलनामा मलाई निकै गाह्रो भइरहेको थियो। नर्स्संगको कुराकानीले मनमनै केही हलुका महसुस गरें। तर निन्द्रा लाग्ने छाँटकाँट पटक्कै थिएन। पल्टिपल्टीकनै झ्यालबाट बाहिर नजर दौडाएँ। अगाडिको रङ्गाशाला टड्कारो देखियो। त्यहाँ बराबर खेलकुदका कार्यक्रमहरु भइरहन्थे। र प्रायजसो अन्त्यमा आतिशबाजी। त्यो दिन पनि आतिशबाजी शुरु भयो। पहिले-पहिले बडो रमाइलो लाग्ने गरेको कुरा त्यति बेला भने अत्यन्त पीडादायक बन्यो। हरेक विष्फोटनसंगै मुटु नै विष्फोट भए जस्तो र उछिट्टिएका झिल्काहरुसंगै मेरो सम्पूर्ण शरीर टुक्रा-टुक्रा भएर उछिट्टिए जस्तो। त्यस्तै अलि पर-परका अग्ला बिल्डिङ्ग्हरुको छतमा गुजुमुजुक्क पारेर रातो बत्ती बालिएको हुन्थ्यो। त्यो रात जून उदाउन नभ्याएकोले आकाश केही अँध्यारो थियो र राता बत्तीहरु तुलनात्मक हिसाबले चहकिला। अरु बेला ती बत्तीहरु हाम्रा लेकाली थुम्काहरुमा फुलेको गुराँसका बोटहरु झैं लाग्थ्यो भने त्यति खेर डढेलोको भुङ्ग्रो जस्तो लाग्यो। मलाई खपी नसक्नुको डाह हुन थाल्यो। नदुख्ने औषधिका लागि अझै आधा घण्टा बाँकि नै भए पनि फेरि नर्स्लाई बोलाएँ र मिलेसम्म डबल डोजका लागि आग्रह गरें। मेरो अवस्था हेरेर उनले डाक्टरसंग सल्लाह गरी औषधि ल्याइदिइन् र म पीडा शमन हुन्छ कि भन्ने आशमा प्रतीक्षारत रहें।
शायद ओपिवाइड्को डबल डोजले होला- म केही समयका लागि तन्द्रामा लीन हुन पुगें। तथापि, मेरो अर्धचेतनबाट पीडा वोध निर्मूल हुन सकेन। मेरो भित्र परालको कुन्यूमा लागेको आगो झैं पट्पट् गर्दै सब थोक सल्किरहेकै थियो। त्यो पट्पटी आवाजसंगै मलाई मेरो नयाँ रक्त कणहरु पट्टपट्ट फुट्दै फैलिंदै गरेको भान हुन्थ्यो। म हाँडीमा भुटिदैं गरेको मकै सरह उछिट्टिन्थें, थचारिन्थें। असह्य वेदनाले होला- मलाई सोझै आगोमा हालेर डढाए हुन्थ्यो जस्तो लाग्थ्यो। यमलोकमा दुष्ट-पापीहरुलाई यातना दिन यमदूतहरुले भक्भकी उमाल्दै गरेको तेलको कराइ मेरो मानसपटलमा घुम्न थाल्यो। म मेरो पालो पर्खन थालें। शायद यो अधकल्चो पीडा भोग्न बाँकि हुदो हो- कसैले “यसलाई पहिले चीसो पानीमा डुबाउन पर्छ” भने जस्तो लाग्यो। त्यस्तैमा दुई जनाले ओछ्यानै सहित उचालेर मलाई एउटा खाल्टो भित्र सुताए र म मडारिंदै चीसो पानीको स्पर्श खोज्ने निष्फल प्रयासमा लागें।
यस्तै तन्द्राका बीच केही समय व्यतित भयो। नर्स्ले “मिस्टर न्यूपाने, मिस्टर न्यूपाने” भन्दै मेरो तन्द्रा भंग गरिदिइन्। भाइटल लिन आएकी रहिछिन्। उनलाई पनि मेरो तन्द्राको कुरा सुनाएँ। पेट तथा आन्द्राको इन्फ्लेमेशनमा कमी आउन सकेको थिएन। भिन्न-भिन्न विधाका विज्ञ डाक्टरहरु बोलाइन्थे। मेरो अवस्था प्रति सबैजसोले गम्भीर चासो व्यक्त गर्ने गरेको कुरा प्रष्ट देखिन्थ्यो। विस्तार-विस्तार मलाई मेरो सामर्थ्यले सीमा नाघ्न थालेको हो कि भन्ने भान हुँदै गयो। सर्वसुविधासम्पन्न उपचार तथा परिवारजनको अटूट साथ हुँदाहुँदै पनि आफूलाई असहाय महसुस गर्न थालें। एक दिन दिउसो अस्पतालमा दुईवटी छोरी, श्रीमती तथा सन्दीप ज्वाइ चारै जनासंगै थिए। मेरो मुख भित्ता तिर फर्किएको थियो, उनीहरु सबै मेरो पिठ्यूँ पछाडि। मेरो मनोदशा छताछुल्ल भएर पोखिएला कि भन्ने डरले उनीहरु तिर मुख नफर्काइकनै मैले सकेसम्म सचेत तथा व्यावहारिक ढंगले मनको कुरा निकालें। कथंकदाचित् मलाई केही भई हाल्यो भने मेरो पार्थिव शरीरलाई जसरी हुन्छ- “छिटोछरितो तथा सरल ढंगले यतै विसर्जन गर्नू र तत्पश्चात्का झञ्झटहरु पनि केही नबेसाउनू” भनेर आग्रह गरें। सबैले रुञ्चे स्वरले “त्यस्तो केही हुँदैन” भनेर सम्झाउन थाले। मैले पनि “यो अहिलेका लागि मात्र नभएर यस्तो भवितव्य पछि पनि पर्न सक्ने भएकोले मेरो मनको इच्छा बताएको हूँ” भनेर अर्थ्याउने प्रयास गरें। हुन पनि हामीले भोग गर्ने भनेको नै देह छउञ्जेलको वर्तमान् हो। मरेर प्रभूमा लीन भइसके पछि त के नै चाहिएला र? आफ्ना सन्ततिहरु तथा प्रियजन सबै सधैं हाँसी-खुशी रहून्- त्यसैमा दिवङ्गत आत्माको शान्ति निहित रहन्छ भन्ने मेरो मान्यता छ।
यहाँ सहयोग गर्ने भन्दा सल्लाह दिनेहरु छ्यास्छ्यास्ती हुन्छन्। यिनीहरुले अरुको कुरा सुन्लान् र अनावश्यक झण्झट बेहोर्न तिर लाग्लान् भन्ने डर थियो। त्यसैले अप्रिय नै भए पनि परिवारसंगको यो कुराकानी पछि मेरो मन निकै हलुका भयो। म अब विस्तार भगवान् पुकार्न तिर लागें। मैले जीवनमा आफ्नो हैसियत तथा क्षमताले पाउनु पर्ने भन्दा बढी नै प्राप्त गरें भन्ने मलाई लाग्दछ। मसंग जे थिए- ती सबै यथेष्ट थिए र जे छन्- ती पनि परिपूर्ण छन्। मैले कहिल्यै कतै अभावको कालो दाग देख्ने गरिन। कारण म मेरा उपलब्धिहरुलाई मेरो बल-वुद्धि तथा पुरुषार्थ भन्दा पनि ईश्वरीय कृपा तथा पितृहरुको आशीर्वादको फल हो भन्ने ठान्दथें- जुन अद्यापि कायमै छ। हतास मनस्थितिका बेला क्षणिक रुपमा स्मरण गर्ने र शरणागत हुने बाहेक भगवान्संग मैले केही माग्नु परे जस्तो मलाई लाग्दैन। प्रभूको दानशीलता प्रति म सदैव अनुगृहीत छु। त्यसैले मैले गर्ने गरेका समस्त पूजन कर्महरु प्रभू प्रतिको मेरो आभार तथा कृतज्ञता प्रकट गर्नेसम्ममा सीमित रहोस् भन्ने मेरो चाहना रहन्छ। भगवान्सामु आफ्नो अभिष्ट प्रकट गर्दैमा त्यसको सहजै आपूर्ति हुन्छ भन्ने कुरालाई पनि म अलि सन्देहकै दृष्टिले हेर्ने गर्छु। तथापि यति बेला भने मैले ईश्वरीय कृपाका लागि हात नफैलाई सुख पाइन र उनकै शरणमा पूर्णरुपले समर्पित हुन पुगें।
मैले सानै देखि भगवान्को स्वरुपलाई फोटोहरुको माध्यमबाट चिनें र कुँदिएका मूर्तिहरुमा देखें। घुम्रिएको केश, मयुरको प्वाँख, हातमा मुरली र वरिपरि ढलेर पोखिएका दहीका घैंटाहरु बीच बामे सर्दै गरेका हिस्सीमयी बालकमा म भगवान् बालकृष्णको रुप खोज्ने गर्थें। त्यस्तै अनेक लीलाहरु सहित चित्रित युवा तथा वयस्क अवस्थाको आकर्षक, शान्त, स्थिर तथा सौम्य व्यक्तित्व नै मेरा लागि श्री कृष्ण भगवान्को चिनारी थियो। त्यस्तै शङ्ख-चक्र धारी नारायण प्रभू, पद्मासनमा रहेका ध्यानमग्न जटाजूटधारी महादेव, अनेक शस्त्रअस्त्र द्वारा सुसज्जित देवी भगवती इत्यादिहरु नै मैले चिनेजानेका देउतीहरु थिए। मलाई निरञ्जन, निराकार भगवद्तत्वको सूक्ष्म स्वरुप बारे केही बताइएन। न म आफैंले केही खोज्ने बुझ्ने प्रयास गरें। भगवद्भक्तिका सार्थक उपायहरु प्रति पनि कहिल्यै चासो राखिएन। त्यसैले म त बडो बिलखबन्दमा पो पर्न पुगें। भगवान्को पुकारा कसरी गर्ने, के माग्ने भन्ने कुराको केही भेऊ पाउन सकिन। म झन्-झन् भ्रान्तिग्रस्त हुँदै गएँ। मेरो उद्धारका लागि समस्त देवीदेवता वरिपरि नै भए जस्तो लागे पनि मैले मेरो व्यथा बिसाउन सकिन। मलाई बालकृष्ण समको “दुःखीका घरमा मात्र तेरो वास हुने भए- हे, ईश्वर! कृपा राखी मलाई अझ दुःख दे” भन्ने कवितांशको सम्झना आयो। शायद दुख भोग्न अझै बाँकि नै भएकोले मैले परित्राण नपाएको हो कि भन्ने सोच्न पुगें।
ईश्वर कणकणमा व्याप्त छन् र म भित्र पनि उनकै वास छ भन्नेमा मेरो अटल विश्वास थियो र छ पनि। क्यान्सर पीडित महाकवि देवकोटाले पनि मृत्यु शैय्यामा यस्तै केही महसुस गरी “………… आखिर श्रीकृष्ण रहेछ एक” भनी लेखेको हुनु पर्छ। त्यस्तै कवि शिरोमणिको “यो दुःख भोग्ने परमेशवरै हो, यो देह उस्को बसने घरै हो” भन्ने पंक्त्रि कानमा गुञ्जिन थाल्च्यो। यदि ईश्वर म भित्र नै रहन्छन् भने कसो नभेटिला त भनेर म पनि खोज्न थालें। मैले बस्ने गरेको पृथ्वी रुपी गोला भन्दा बाहिर अनगिनत सौर्यमण्डलका अनगिनत गोलाहरु बीचको प्रकाशविहीन अनन्त शून्यतामा म जूनकिरी झैं बल्दै-निभ्दै गरेका ससाना तर चहकिला विन्दुहरु देख्ने गर्थें। यसैगरी, कतैकतै फुस्रो रङ्गको धुवाँ वा पानीको वाफ उठ्दै-विलाउदैं गरेको भान हुन्थ्यो। त्यसैमा बेला-बेला म स्त्री-पुरुष दुबै सम्मिलित कुनै एउटा युगल आकृति बन्दै-हराउदैं गरेको देख्दथें। त्यो आकृतिले बरोबर अनन्तका असीमित गोलाहरुको विचरण गरिरहेको हुन्थ्यो। कहिलेकाहीं पृथ्वी तिर पनि फर्केर हेर्थे। त्यति बेला मेरो मनमा अब यिनले मलाई देख्ने भए कि भन्ने आश पलाउंथ्यो। तर ती भने कुनै प्रतिकृया नजनाइकनै पुन आफ्नो निरुद्देश्य विचरण जारी राख्थे। म निकै बेर यस्तै अर्ध विक्षिप्त मानसिकताका विभ्रमहरु बीच रुमल्लिई रहें। पछि आफ्नै सनातन संस्कार अनुसार भगवान्को स्मरण गर्दै र देवीदेवताका स्तुतिहरु बाचन गर्न थालें। आफूलाई कण्ठस्थ श्लोकहरु पनि विस्मृतिका कारण बीचबीचमा अड्किन पुग्थ्यो। पछि घरबाट केही पुस्तकहरु मगाएँ र शनिमृत्युञ्जय स्तोत्र, मद्भगवद्गीता, विष्णु सहस्रनाम लगायत शिव तथा शक्ति स्वरुपिणी भगवतीका विविध स्तोत्रहरु पाठ गर्न थालें। यसबाट मलाई निकै राहत पुगे जस्तो लाग्यो र मेरो हिम्मत झण्डै डबलिएको अनुभव गरें।
भगवान् प्रति आस्था तथा भक्ति दर्शाउने तौरतरिका जे जस्तो भए पनि एउटै मूल उद्देश्य ईश्वरीय सत्त्तालाई आत्मसात् गर्नु हो। मलाई भने प्रभूका कृपाले यो यातनाबाट पार पाउन पाए हुन्थ्यो भन्ने थियो। ईश्वर हाम्रा परमपिता हुन् र हामी उनका सन्तति। यो शरीर उनकै इच्छाले धारण गरिएको हो र यो भित्रको प्राण उनी स्वयं हुन्। यस अर्थमा यो यातना भोग्ने पनि उनी स्वयं नै हुन् भनेर निकै चित्त बुझाउन खोजें- तर सकिन। आफैंले दिएको शरीरं माथिको यो क्रूरता के का लागि? मेरो मनमा प्रश्न उठ्यो। के यो मेरो कुकर्मको फल हो? हो भने मलाई सहर्ष स्वीकार छ र अझै भोग्नु छ भने पनि तयार नै छु। म आफैं पनि कुनै उधारो बाँकि राखेर जाने पक्षमा छैन। तर म जस्ता कुकर्मीले मात्र नभएर ईश्वरका परम भक्त सिद्ध पुण्यात्माहरुले पनि शरीररको यो पीडा भोगेकै हुन्छन्। आखिर शरीर त सबैको दुख्दो रहेछ। ईश्वर स्वयं पनि पटकपटक अवतरित भएकै हुन्। उनले पनि यो पीडा महसुस गरेकै होलान्। के रहेछ यो दुख भोगाइको प्रयोजन ? दिन पुगेको हो भने सीधै उठाइदए के बिग्रन्थ्यो र? आखिर उनैले दिएको जन्म र उनैले खटाएको कर्म हो भने त्यसका लागि निर्दोष शरीर माथि किन यो अनाहकको सजाय भन्ने जिज्ञासा रही नै रह्यो।
अस्पताल बसाइकै क्रममा एक दिन कुशेऔंशी अर्थात् बाबुको मुख हेर्ने दिन पर्न गयो। थोरै तङ्ग्रिन थालेको भए पनि पेटको दुखाई भने यथावत् नै थियो। दिन भरि जस्तै घरपरिवार तथा केटाकेटीहरु कसैसंग प्रत्यक्ष त कसैसंग मेडिया मार्फत् कुराकानी भयो। शुभकामनाहरुको ओइरो लाग्यो। बाबु भएको झण्डै चार दशक हुन लागेको भए पनि केही समय यता देखि बाबु हुनुको गरिमालाई धेरथोर बुझ्न थालेको थिएँ। परिवारको महत्व भित्रै देखि वोध हुन थालेको थियो। मृत्युसंगको यो विषम सङ्घर्षका बखत मैले परिवारबाट जुन स्नेह र साथ पाएँ त्यो सर्वथा अतुलनीय रह्यो। परिवार भन्दा ठूलो आश्रय अरु हुन नसक्दो रहेछ। छोरीहरुको मायामा मलाई आमाको झझल्को आयो। त्यस्तै भाइहरुमा वुवाको आत्मा पुन बौरिएको देखें। कता-कता प्रारब्धले अर्धाङ्गिनीको रुपमा जोडिन आइपुगेकी श्रीमती साक्षात् सावित्री स्वरुपमा प्रस्तुत भइन्। बुहारीहरु शक्ति स्वरुपमा विद्यमान् रहे। ज्वाइहरु नारायण स्वरुपमा। केटाकेटीहरु पितृहरुकै प्रतिबिम्ब स्वरुप खडा थिए। बहिनीहरुको चेहराबाट करुणामयी भाव कहिल्यै मेटिएन। वयोवृद्ध सासु-ससुराको आशीर्वादले अभेद्य कवचको रुप लिन पुग्यो। नातिनातिनाको कुरै नगरौं- पालनहारा भने पनि तारणहारा भने पनि यिनीहरु नै रहेछन्। साधुसन्त वा सन्यासीहरुका लागि सांसारिक मोह-मायाको कुनै अर्थ नरहला, तर हामी जस्तो घरगृहस्थी गर्नेहरुका लागि जीवनको आधारसुत्र भनेकै पारिवारिक मोह-बन्धन रहेछ। यही मोह माया हो- जसले सामान्य गृहस्थ व्यक्तिलाई जिउन सिकाउछ। आत्मिक तथा सामूहिक समुन्नतिका लागि अथक रुपले सङ्घर्षरत रहन आवश्यक उर्जाश्रोत उपलब्ध गराउछ। सृजनशील रहन उत्प्रेरणा प्रदान गर्छ र जीवन्त रहन सघाउ पुर्याउछ। यो नितान्त प्राकृतिक प्रकृया हो- जसबाट मनुज, पशु-पंक्षी, कीटपतङ्ग कोही पनि अलग देखिदैन। मलाई लाग्छ- सृष्टिचक्रको यो शृङखला यही मोहबन्धनद्वारा परिचालित छ । आफू र आफन्तहरु, समाज, पेशा, धर्म, संस्कारगत मूल्यमान्यताहरु- यिनै रहेछन् जीवनका गतिशीलताका मूल कडीहरु। यिनै बन्धुवान्धव तथा मित्रजन इत्यादिका शुभेच्छा तथा शुभाशीषले नै हो- आज यो अनुस्मृतिका हरफहरु लेख्न्दै गर्ने अवसर प्राप्त भएको हो भन्न मलाई कुनै संकोच लाग्दैन। मेरो निभिसकेको दियो पुन ज्वाज्वल्मान् हुनुमा जीवन प्रतिको यही मोहले प्रमुख भूमिका निभाएको कुरामा म विश्वस्त छु। नभए म किन संघर्ष गर्थें? के-का लागि चाहिन्थ्यो मलाई आयु? एक न एक दिन त मर्नै पर्छ भनेर आजै देखि सास फेर्न छोड्न त नसकिएला, तर श्वास-प्रश्वास जारी राख्न कुनै बलियो आधार पनि चाहिने नै रहेछ। अहिलेको समाजमा भयावह रुपले व्याप्त हुँदै गएको पारिवारिक बिखण्डनका काला-काला छाँया मेरो आँखा अगाडि घुम्न थाल्यो। विशेषगरी छोराछोरीहरुको विदेश पलायनका कारण एक्लिन पुगेका कम्तिमा मेरो पिंढीसम्मका बाबुआमाका लागि यो जिन्दगीको बैतरणी त्यति सहज हुनेवाला छैन। त्यसैले आज बाबु र छोराछोरी बीच स्नेह एवं वात्सल्य दर्शाउने दिन म अस्पतालको शैय्याबाटै सबैलाई कहिल्यै पनि पारिवारिक विग्रहको कष्ट झेल्न नपरोस् भनी शुभकामना व्यक्त गर्न चाहन्छु। साथै आयुपर्यन्त आफ्ना प्रियजनको साथ रहिरहोस् र विशेषतः आफ्ना सन्ततिहरुको सान्निध्यबाट कुनै पनि आमाबुवा कहिल्यै दूर हुन नपरोस् भनी प्रार्थना गर्दछु।
अस्पताल बसाइको क्रम आफ्नै हिसाबले अघि बढी नै रह्यो। प्रयोगशाला परीक्षणका नतिजाहरुमा सुधारका संकेतहरु देखिन थाले। प्रथमतः पानी तथा पानी सरहका तरल पेयको सेवन शुरु गराइयो। त्यसपछिका एकदुई दिनमा नरम तथा सुपाच्य खानेकुरा समावेश हुन थाल्यो। फलस्वरुप, नसा मार्फत् चढाइएका न्यूट्रिएण्ट्स्हरु क्रमश घट्दै गए। शरीरमा जोडिएका नलीहरु एक पछि अर्को हुँदै छुटदै गयो। पेटको दुखाइ र दिसाको गडबडी बाहेक अन्य हिसाबले म पनि तङग्रिदैं गएको अनुभव गर्न थालें। ओछ्यानमा सुत्दा-सुत्दा वाक्क लागिसकेकोले म दिउसोको समय सकेसम्म कुर्सीमा बिताउने गर्थें। लामो समयसम्म एउटै डल्लो परेर रहेको शरीर भएर होला- एक्लै हिंड्नका लागि राम्रो सन्तुलन स्थापित भइसकेको थिएन। त्यसैले छोरीहरु कसैलाई अघिपछि राखेर म बिहान बेलुकी कोठा भित्रै वा बाहिर कोरिडोरमा हिंड्ने गर्दथें। यूनिट् भित्रैको एउटा कोठा बिरामीका लागि “रिल्याक्सेसन् रूम” भनेर छुट्याइएको थियो- जहाँ चिया-कफीको व्यवस्था, विविध विधाका यथेष्ट पुस्तक तथा प्रकाशनहरु, दिमागी मनोरञ्जनका पज्जल् गेमहरु, कम्प्यूटर, टीभी, तथा शारीरिक सकृयताका लागि ट्रेड् मील् लगायतका उपकरणहरु उपलब्ध थियो। म छिटै नै आफ्नै प्रयासले रिल्याक्सेसन् रूमसम्म जान सक्ने भएँ र यथासक्य शरीर तन्काउने-मर्काउने अभ्यास गर्न थालें। असपतालका मेरा दिनहरु केही सहज जस्तो लाग्न थाले पनि मलाई घर जाने चटारोले छोपिसकेको थियो। कसैबाट केही सङ्केत नपाए पछि एक दिन मुखै फोरेर डाक्टरलाई सोधें र यस्तै हिसाबको प्रगति रहिरह्यो भने हप्ता दिन भित्र डिस्चार्ज गर्न सकिने भन्ने जानकारी पाएँ।
रोग लाग्नु थियो- त्यो त लागी नै हाल्यो। तथापि अमेरिकाको यो सुविधामय उपचार प्राप्त भएकोमा म आफूलाई भाग्यशाली सम्झिन्छु। छोरीहरु विदेशिंदा एक मनले “केटाकेटीहरु ठूला भए, लाखा-पाखा लागे, अब यिनीहरुको के भर भयो र?” भन्ने सोच्ने गर्थें। तर आजको यो संयोग तिनै छोरीहरुका कारण जुर्न गयो। आखिर जीवन यस्तै संयोगहरुको संगालो त हो नि। किड्नी बायोप्सीको खबर सुन्न नपाई कान्छी छोरी २० महिनाको काखे छोरो च्यापेर नेपाल नै आइपुगेकी थिई। डाक्टरको क्लिनिक तथा अस्पताल धाउँदाको बेला पनि कहिल्यै साथ छोडिन। यताका तौर-तरिका तथा झै-झण्झट प्रति उनको असन्तुष्टी स्पष्ट झल्किन्थ्यो। उता मेरो रिपोर्ट्हरु प्रति डाक्टर छोरीज्वाइं पनि निकै गम्भीर भइसकेका थिए। छोरी त आत्तिएर डाँको छोडेर रुने भइसकेकी थिई। त्यसैले हान्निएर अमेरिका तिरै आयौं र आएकै दिन देखि उपचार शुरु भयो। मेरो हेरचाहमा कतै कुनै कसर रहन दिएनन्। कान्छी छोरी मेरो वा मेरो जस्तै रोगका विषयमा लेखिएका पुस्तकहरु उपलब्ध गराउँथी। “यो गर र यो नगर” भन्ने उनको निर्देशनको फेहरिस्त निकै लामो हुने गर्थ्यो। साथै सोही अनुसारको वातावरण सृजना गरिदिनका लागि निरन्तर प्रयत्नरत रहन्थी। ठूली छोरी मेडिकल लाइनकै भएकीले उसको भूमिका त झन् महत्वपूर्ण हुने नै भयो। त्यसमाथि ऊ अलि बढी नै चिन्ता लिने गर्दथी र प्रतिकृया पनि तुरुन्तै जनाई हाल्ने बानी थियो। उसकै ब्याचमेट् मध्येकी साथी यहाँ अमेरिकामै हेमाटोलोजिस्ट्-अन्कोलोजिस्ट्कै रुपमा कार्यरत रहिछिन्। मेरो स्वास्थ्यलाई लिएर उनीसंग पनि बराबर छलफल चलिरहन्थ्यो। मलाई हेर्ने डाक्टरहरुसंग अलि बढी नै सोधखोज गर्ने र कहिलेकाहीं त स्पष्टीकरण नै मागे जस्तो गर्ने गर्दथी। कतैबाट केही चुक हुन जाने हो कि भन्ने हिसाबले सदैव सशङ्कित रहने र आफ्नो राय प्रकट गरी हाल्ने उसको स्वभावै भइसकेको थियो। अस्पताल हुँदाखेरि त सम्बन्धित नर्स् तथा ड्यूटीका डाकटरहरुले उसको यो रवैया प्रति असन्तुष्टी नै प्रकट गरे। मलाई भने अब छोरी साँच्ची नै ठूली भइछ र यत्रो अभिभारा सम्हाल्न सक्ने भइछ भन्ने लाग्यो। श्रीमतीको कुरै नगरौं। रोग मलाई लाग्यो- तर सारा असर भने उनमा देखिने गर्थ्यो। महिनौं देखि ढाडिएका आँखाका डिल ओबाउन सकेको थिएन। न चेहराको रंगरोगन नै फर्किन सक्यो। मेरो स्याहारसुसार त छदैं थियो- बिहान बेलुकीको भात-भान्छा, त्यस माथि नेपालको आफनो घर तथा विधि-व्यवहारको चिन्ता, बूढाबूढी हुँदै गइरहेका अशक्त आमाबुवासंगको विरह इत्यादि सबै धान्नु परेको थियो। तथापि, जोश-जाँगरमा कुनै कमी आउन दिएकी थिइनन्। यसैगरी, अस्पताल रहँदाका बखत त अमेरिकामै रहेका सबै केटाकेटीहरु एकै ठाँऊमा जुटे। छोरो अधिन एक हप्ता अघि देखि नै संगै थियो। कान्छी छोरी दुई वर्षको बालक छोरालाई छोडेर यतै आएकी थिई। छोरी वर्षा पनि आइपुगी। छोरा बुहारी पनि जम्मा भए। यिनीहरुसंग यति नजिकिएर बस्ने अवसर जुरेको संभवतः यो पहिलो पल्ट होला। तसर्थ विदेशी भूमिमा भए पनि मैले कहिल्यै असहाय तथा एक्लो महसुस गर्न परेन। केटाकेटीहरुले गर्नुसम्म गरे र मलाई कालको मुखबाट फिर्ता ल्याएरै छोडे। मृत्युको मुखमा पुग्दै गर्दा र त्यहाँबाट फर्कदैं गर्दाका मेरा आफ्नै अनुभवहरु छन्। ३३ दिनको अस्पताल बसाइ मध्ये १५ दिन त अर्धचेत अवस्थामै बितेको थियो। यही अर्धचेत अवस्थामै मेरो भने पूर्णचेत खुल्यो कि जस्तो लाग्न थालेको छ। जीवनलाई हेर्न एउटा अर्को आँखा थपिएको महसुस गरेको छु। र मलाई लाग्छ- म अझै केही खारिन पुगेको छु। यसबाट मेरा बाँकिका दिनहरु अझ उद्देश्यमूलक एवं क्रियाशील राख्न आवश्यक उर्जा प्राप्त हुने छ भन्नेमा विश्वस्त छु।
सेप्टेम्बर ७ तारिख- अस्पतालबाट घर फर्कने दिन। भगवान्कै कृपाले अहिलेलाई एउटा त्रासदीपूर्ण दुस्वप्न समाप्त भएको छ। तथापि, मैले त्यति बेला भोग्नु परेको पीडा सम्झिदा म नराम्रोसंग झस्किन पुग्छु। र फेरि पनि त्यस्तै पीडाको अवस्था भोग्नु पर्ला कि भनेर भित्रै देखि काम्न थाल्दछु। तर ईश्वर त्यति क्रूर नहोलान् कि? जसरी उत्तीर्ण गरिसकेको परीक्षा फेरि पटकपटक दिइरहनु पर्दैन, त्ससैगरी मैले तय गरिसकेको यो बाटो फेरि दोहोर्याएर हिंड्नु नपर्ने हो। तर के ठेगान? बाँकि बाटो तय गर्ने क्रममा त्यो भन्दा पनि सकसपूर्ण परिस्थितिबाट गुज्रिनु पर्ने हो कि? नभन्दै अस्पतालबाट फर्किएको दुई हप्तासम्म उत्साहजनक रुपले स्वास्थ्यलाभ गरिरहेको थिएँ- एकाएक कोभिड सङ्क्रमण हुन पुग्यो र तीन दिन फेरि अस्पतालकै बास भोग्नु पर्यो। यस्तो अझै कति भोग्नु पर्ने हो? त्यसैले साँर्च्चीकै भन्नु पर्दा मलाई आजभोलि मृत्यु भन्दा जीवन देखि डर लाग्ने गरेको छ। मृत्यु त मुक्ति हो, जुन अवश्यंभावी छ। जीवन पो बरु अनिश्चित हुँदो रहेछ। यस अर्थमा, यो दुस्वप्नबाट ब्युँतिनु कत्तिको उपलब्धिमूलक हुन्छ-त्यो आउँदा दिनहरुले निर्धारण गर्ला, तथापि, दोश्रो जन्म भनिएको मेरो बाँकि जीवन प्रति म निकै सकरात्मक छु र मेरा आगमी दिनहरु सदैव उत्साह तथा उमङ्गका साथ बिताउन सकूँ भनी भगवान्संग प्रार्थना गर्दछु।
डराउनु पर्ने वा सचेत रहनु पर्ने त जीवन जीउने क्रममा साधना रहेछ क्यारे । परिवारकाे साथ त्यसका लागि शक्ति रहेछ । दाइलाइ नयाँ जीवनकाे शुभकामना र अाफ्नाे दुःख भाेगाइबाट हामीलाइ प्रेरणा दिएकाेमा धन्यवाद ।
सही हो। जीवन साधना नै हो।
दाई हजुरले भोग्नु भएका प्रत्येकपलको यी हरफहरु पढदा धैरैपटक अनायासै आँखाहरु कति पटक कसरी बगेर यी शब्दहरु पढन नसकिने गरी अवरोध पुऱ्याउन आए ! यी भोगाई पश्चात जीवन र मृत्यूलाई हेर्ने तेश्रो आँखा थपिएको भनि ब्यक्त यी हरफले, खै के भनौ ! कुनै शब्द नै छैनन् ! दाई अहिले तपाईका वरीपरी सबै आफ्ना, धेरिएर बसेका परिवारहरु माझ देख्दा म बुवाको त्यतिबेलाको अबस्थामा तपाईले निभाउनु भएको भूमिका र कर्तब्य निर्वाहको कुरा याद आयो ! पक्कैपनि तिनै पित्रीहरुका आशिर्वादले पुण्यको फल स्वरुप हजुरलाई पनि यी सबै कुरा जुटन गयो ! यहा पोखिएका कतिपय कुराहरु हाम्रो लागि पनि प्रेरणा श्रोत बनेको छ । श्री दुर्गा भवानीको कृपाले हजुरका सपरिवारको यश किर्ति फैलियोस, सम्बृद्धी फैलियोस ! सुस्वास्थ्य दिर्धायूको कामना गर्दै बडा दशैंको शुभकामना ब्यक्त गर्दछु !
निरन्जन अधिकारी तथा परिवार ।
धन्यवाद बाबु। आखिरी लेखोटकै कुरा रहेछ। तिमीहरु जस्तो बुझ्ने मान्छेको कुराले चित्त शान्त हुन्छ। भगवती माताले हामी सबैको कल्याण गरुन्। तिमीहरूले राता लुगा लगाएर देवीको पूजा आराधना गरेको दृश्य सम्झिरहन्छु। दशैं शुभ रहोस् मङ्गलमय रहोस्। रमाइलो होस्।
I was not aware that you had go through such a traumatic experience . Thanks now you have a kind of relief .
And your way of expressing what you went through reminds me of Jagdish Ghimire’s Antaar Manko Yatra .
Wish you the best and live and be happy and enjoy each moment of life ,
Kayci
धन्यवाद भाइ। आखिर सबै लेखोटको कुरा नै रहेछ। तिमीहरू जस्तो बुझ्ने मान्छेको कुराले यो चित्त शान्त हुन्छ। भगवती माताले हामी सबैको कल्याण गरुन्। तिमीहरूले राता लुगा लगाएर देवीको पूजा आराधना गरेको दृश्य सम्झिरहन्छु। दशैं शुभ होस्। मङ्गलमय होस् रमाइलोसँग बितोस्। शुभकामना।
I am shocked to know you had to go through all this trouble . You are fighter you get out of this , love to you and your family .
Kayci
Thank you, KC! Understandings from friends like you really boost my confidence. This is simply a part of the life and of course will pass.