“ग्र्याण्डी देखि फ्र्याङ्कलिनसम्म”- ५ 

“ग्र्याण्डी देखि फ्र्याङ्कलिनसम्म”- ५ 

किमो थेरापी तथा बोन म्यारो प्रत्यारोपण जस्ता  चरणहरु  राम्रै परिणाम सहित पार लगाइएको हुँदा माइलोमासंगको  दौडमा म निकै अगाडि पुगिसकेको हुनु पर्छ भन्ने मैले सोचेको थिएँ। तर यो त म संगसंगै  नै हिंडिरहेको रहेछ। आखिर क्यान्सर न ठहरियो। त्यत्तिकै छुट्कारा त के पाइन्थ्यो र?  प्रत्यारोपण पछिको तीन महिनाको अनुगमन अवधि र त्यस पछिको अर्को तीन महिना गरी जम्मा छ महिनाको समयसम्म माइलोमाले आफ्नो उपस्थिति देखाएको थिएन। अर्थात् रेमिसनकै अवस्था कायम रह्यो। त्यस पछि मेन्टेनेन्स् थेरापीका औषधीहरु शुरु गरियो। तर ती औषधीहरुले यसलाई धेरै समयसम्म ओझेलमा राख्न सकेन र  विस्तारै यसको  उपस्थिति उजागर हुन थाल्यो। रगतमा मोनोक्लोनल प्रोटिन (क्यान्सरयुक्त कोशिकाहरुले उत्सर्जन गर्ने प्रोटिन) को मात्रा क्रमिक रुपले बढ्दै गएको देखियो।   यसले रोगको बल्झिदो अवस्था (Progression of Disease) भन्ने बुझाउँदो रहेछ। अन्कोलोजिष्ट् तथा बोन म्यारो प्रत्यारोपण गर्ने डाक्टर दुबैले  हाल चलाइएका औषधीहरु प्रभावहीन रहेको भन्ने आशंका व्यक्त गरे। साथै औषधीका अन्य विकल्पहरुका विषयमा छलफल चल्यो। प्रथमतः  युनिवर्सिटी हस्पिटलमै सञ्चालनरत नयाँ औषधीहरुको क्लिनिकल ट्रायलमा सम्मिलित हुने कि भन्ने प्रस्ताव  अघि सारियो। यसका विवरणहरु सुन्दा-पढ्दा  नराम्रो नलागे पनि यो प्रकृया अलि लामो र अनिश्चित देखिएकोले  घरसल्लाहको क्रममा त्यति उपयुक्त ठानिएन। हामीले बोन म्यारो प्रत्यारोपण जस्तै CAR-T थेरापीको  कुरा सुनेका थियौं र यसको संभावनाका सम्बन्धमा  कुरा उठायौं। यो थेरापी भर्खरभर्खर मात्र प्रयोगमा   आएको रहेछ।  यसका साइड इफेक्टहरु पनि निकै जटिल किसिमका हुँदा रहेछन्।  साथै तीन-चार किसिमका उपचार प्रकृयाहरु असफल भए पछिमात्र यो प्रकृया अपनाइने भएकोले मेरो अङ्कोलोजिस्ट्बाट यसको समर्थन भएन। अन्त्यमा, “स्ट्याण्डर्ड् लाइन् अफ् ट्रीट्मेण्ट्” अन्तर्गतका अन्य विकल्पहरुलाई नै पछ्याउने निधो भयो। तदनुसार आठ साइकल (आठ महिना) सम्मका लागि  दुई थरि इन्जेक्शन र दुई थरि खाने औषधीहरुको नयाँ समूह (Regimen) छनौट गरियो।  इन्जेक्शन् भने हरेक हप्ता लगाउनु पर्ने रहेछ। अरु कुरा त ठीकै थियो, तर  आठ महिनासम्म  फेरि हप्तै पिच्छेको तारीख धान्नु पर्ने भयो भनेर मन अलि खिन्न हुन पुग्यो।    

क्यान्सर रोगको उपचार क्रमका  भिन्न-भिन्न चरण वा साइकलहरु बीच सामन्यतया केही समयको अन्तर हुने गर्दछ, जसलाई  “ट्रीट्मेन्ट् होलिडे” भन्ने गरेको मैले कता-कता  सुने झैं लाग्दछ।  यो “ट्रीट्मेन्ट् होलिडे” को अवधिमा बिरामीको  उपचारले केही विश्राम  पाएको हुन्छ। फलस्वरुप त्यति बेला बिरामीको दैनिकी केही सरल तथा फुर्सदिला हुने गर्छन्।  यो लामो छोटो अर्थात् हप्ता-दश दिन देखि दुई-चार महिनासम्मको पनि हुन सक्छ।  गत वर्ष छ महिनाको निरन्तर किमो थेरापी पछि मेरो उपचारले पनि पाँच हप्ता जतिको यस्तै फुर्सद पाएको थियो। किमोले भित्र-भित्रै सुकाएको मेरो शरीर त्यति बेला लामो खडेरीका कारण जिङ्ग्रिएका वनस्पतिहरु  वर्षात्‌को पहिलो झरले एकाएक पलाएर हराभरा भए झै तङ्ग्रिएर तन्दुरुस्त एवं तरोताजा भएको मैले महसुस गरेको थिएँ।  साथै मानसिक रुपले पनि ममा एउटा नयाँ उर्जा पलाएको थियो र  उपचार प्रतिको मेरो विश्वास अझ सुदृढ हुन पुगेको थियो। यो पटक त म  कम्तीमा पनि  एक-दुई वर्षसम्मको “ट्रीट्मेन्ट् होलिडे” को आशामा थिएँ। अझ  बोन म्यारो प्रत्यारोपण पछि  रेमिसनमा रहेका माइलोमा रोगीहरुको हकमा त यो अवधि वर्षौंसम्म लम्बिएको उदाहरणहरु प्रशस्त   भेटिन्छन्। हाम्री एक पारिवारिक घनिष्ट मित्र श्रीमती वीना पोखरेललाई पनि आज भन्दा बाह्र वर्ष अघि  यही रोग लागेको रहेछ। उनले  पनि अमेरिकामै उपचार  गराएकी हुन्।  केही समय अघि उनी मलाई भेट्न  घरमै आएकी थिइन्। त्यतिखेर देखिको उनको माइलोमा अहिलेसम्म  फर्किएको छैन भनेर उनकै मुखबाट सुनेको थिएँ।  तर मेरो माइलोमा अनपेक्षित ढंगले केही महिना भित्रै बल्झियो। फलस्वरुप, मेरा लागि यो “ट्रीट्मेन्ट् होलिडे” को कुरो “आकाशको फल, आँखा तरी मर्” भने जस्तो भयो र  म  केही  सुस्ताउनै नपाई फेरि एकपल्ट क्यान्सर विरुद्धको  यो मैदानमा उत्रिन पुगें।

क्यान्सर उपचारको चुनौति भन्नु नै यसका औषधीहरुको साइड इफेकट्हरु रहेछन्। मेरा लागि अलि आक्रामक किसिमका  औषधीहरु प्रयोग गरिएकोले   त्यसका दुष्प्रभावहरुका सम्बन्धमा छोरी निकै चिन्तित हुने गर्दथी। साथै,  ती औषधीहरु तथा  प्रयोगशालाका रिपोर्टहरुलाई लिएर  बेलाबेलामा आफ्ना चिने-जानेका यसै विषयका अन्य  डाक्टरहरु संग उसको छुट्टै सरसल्लाह हुने गर्दथ्यो। त्यसमा कोहीकोही उसका आफ्ना सहपाठीहरु पनि थिए। सबैका आ-आफ्ना भनाइ हुने नै भयो। सल्लाहकै क्रममा त्यति धेरै किसिमका औषधीहरु नचाहिने हो कि भन्ने कुरा पनि उठ्ने गर्थ्यो। यस अघिका उपचार प्रकृयाहरु सफलतापूर्वक पार लगाएकोले होला, म भने यो आठ महिनाको साइकल जसोतसो पूरा गरेरै छोड्छु भन्नेमा अडिग थिएँ।

रोगको निदानमा औषधी-उपचारको भूमिका त सर्वोपरि हुने नै भयो। साथै बिरामीको विश्वास, पारिवारिक स्नेह, स्याहारसुसार तथा निश्चिन्त मनस्थिति जस्ता गैर-चिकित्सकीय कुराहरु  पनि उत्तिकै महत्वपूर्ण  मानिन्छ।। म यी सबै तिरबाट आफूलाई सुसम्पन्न ठान्दछु। औषधी-उपचारको संबन्धमा सम्पूर्ण जिम्मेवारी छोरी-जुवाइले उठाएका छन्।  छोरी  हरबखत  जस्तो यिनै औषधीहरुको ध्याउन्नामा रहन्छे र अन्य राम्रा विकल्पहरु केही  छन् कि भनेर सोध-खोज गरिरहन्छे।  समय नै बिताउने त हो नि भनेर म पनि कहिलेकाहीं गुगलका समग्रीहरु तिर आँखा दौडाँउछु। स्पष्ट हुन नसकेका कुरा  च्याट जीपीटीलाई सोध्छु। विगत वर्षहरुमा मल्टिपल माइलोमाका विभिन्न थरि औषधीहरु थपिएका रहेछन्  र  रोगको प्रकृति  अनुसारका प्रयोगहरु पनि भइरहेको देखिन्छ। किसिम-किसिमका रोगलाई किसिम-किसिमका औषधषीहरु हुने नै भयो।  म भने आफ्नो यही उपचार प्रकृया प्रति सन्तुष्ट छु। उपचारको यो चरणको  परिणामहरु  ठीक-ठाक नै देखिएका छन्। मोनोक्लोनल प्रोटिन  पनि नियन्त्रणमा आइसकेको छ।  यो रोगले पछि गएर कसरी पिर्ने हो- त्यो पछि नै थाहा होला,  अहिले सम्म भने  त्यति  गम्भीर खालका अप्ठ्याराहरु महसुस गर्नु परेको।  छैन। तर रोग बलियो र शरीर निर्धो हुँदै  गएर होला, शारीरिक  थकान तथा स्फूर्तिहीनता नजानिदो किसिमले बढ्दै गएको अनुभूति गर्दैछु। माइलोमा रोगीका लागि यो आम कुरो मानिदो रहेछ। औषधीहरु पनि ग्लानी नै गराउने खालका हुँदा   रहेछन्।  ब्लड काउण्ट्मा पनि केही उतार-चढाव देखिने गर्छ। विशेषगरी, डब्ल्यू बी सी र न्यूट्रोफिल्‌को मात्रा  न्यून हुने गरकोले  संक्रमणको जोखिम हमेशा उच्च रहँदो रहेछ।  म स्वयं पनि  पटकपटक  संक्रमित भइसकेको छु। माइलोमा रोगीहरुको मृत्युमा पनि माइलोमाजन्य कारण भन्दा संक्रमणजन्य कारणहरु  प्रमुख रहने गरेको तथ्याङ्कहरुले देखाएका छन्, जसमा  छातीको संक्रमणको  स्थान अझ उच्च रहने गरेको पाइन्छ। यसका अतिरक्त, न्यूरोप्याथी अर्थात हात-खुट्टाहरु झम्झमाउने-काम्ने,  रगत जम्ने, मुटु सम्बन्धी समस्याहरु आउने, श्वास-प्रश्वाश अर्थात दम बढ्ने, पेटको विकार वा पाचन सम्बन्धी समस्याहरु प्रमुख हुँदा रहेछन्। साइड इफेक्टको कुरा गर्दा  रगत जम्ने समस्याबाट त म पनि पीडित हुन पुगें। दशैं मनाउन कान्छी छोरीकोमा गएका बेला  एकाएक दाहिने पिडौलामा दुखाइ शुरु भएको थियो। एकदुई दिन त ठीक होला कि भनेर बसियो। पछि अस्पताल नगई सुख पाइएन। पिडौंलामा रगत जमेको (Deep Vein Thrombosis (DVT) भन्ने थाहा लाग्यो र  त्यसका लागि अर्को एकथरि औषधी  थपिन पुग्यो। औषधीहरुमा सामन्य थपघट वा परिवर्तन स्वभाविक नै हो। यी कुराहरु उपचार यात्राकै उकाली-ओरालीहरु हुन् र यिनलाई छिचोल्दै अघि बढ्नुको विकल्प छैन भन्ने कुरा मैले राम्रोसंग बुझेको छु।

म अमेरिका आए पछिकै कुरा हो। एक दिन कृष्ण अधिकारी नाम गरेका परिचित भाइलाई पनि रक्त क्यान्सर भएको कुरा फेसबूकबाट थाहा पाएँ। ऊ रिलायबल् सहकारीमा काम गर्दथ्यो।  कुनै  बेला मेरी श्रीमती पनि सोही संस्थासंग आवद्ध रहेकी थिइन्। उनीहरुको राम्रो चिनजान थियो।  म आफू पनि रक्त क्यान्सर पीडित भएकोले उसको विषयमा विस्तृत रुपले थाहा पाउन उत्सुक थिएँ। पछि उसैले फोनमा सम्पर्क गर्‍यो र सविस्तार  कुराकानी पनि भयो। उसलाई माइलोफाइब्रोसिस् नामको रक्त क्यान्सर भएको रहेछ। र नयाँ वानेश्वरस्थित सिभिल अस्पतालमा उपचार गराउँदै रहेछ।। उसलाई पनि डाक्टरहरुले बोन म्यारो प्रत्यारोपण गर्नु पर्छ भनेका रहेछन्। “प्रत्यारोपण कहाँ गराउँछौ त?” भनेर सोधैं। उसले “अन्त जानु पर्दैन, यहीं गर्न सकिन्छ र राम्रै हुन्छ भनेर डाक्टरले भन्नु भएको छ” भनेर सुनायो। । खर्च भने तीस लाख लाग्छ भनिएको रहेछ। एकै पल्ट त्यति धेरै पैसाको जोहो गर्न गाह्रो हुने नै भयो। त्यसैले आफ्ना निकटस्थ सहृदयीहरुबाट सहयोग जुटाउदैं रहेछ। पैसा खर्च भए पनि स्वदेशमै प्रत्यारोपणको व्यवस्था उपलब्ध भएकोमा खुशी लाग्यो र सकेको सहयोग सहित उपचारको पूर्ण सफलताका लागि शुभकामना दिऐँ।   

त्यसपछि हाम्रो प्रत्यक्ष कुराकानी भएन। फेसबूक पोस्ट्बाटै उसको हालखबर थाहा हुने गर्थ्यो। ऊ अस्पतालमै थियो र प्रत्यारोपणको पालो कुरिरहेको थियो। पछि प्रत्यारोपणको सफलताका लागि    पूजाआजा गरेको तस्वीरहरु पोस्ट गरको देखें। अब पालो आएछ  भन्ने लाग्यो। म स्वयं यो चरणबाट गुज्रिसकेको र मैले यसका जटिलताहरु भोगिसकेको हुनाले  उसका लागि भगवान्‌संग प्रार्थना गरें। त्यसपछि, फेसबूकमा कुनै पोस्ट्हरु देखिएन र चासो पनि राखिएन। केही समयपछि एक दिन बिहानै उसको तस्वीर र तल तिर “हार्दिक श्रद्धाञ्जली” लेखिएको पोस्ट्मा आँखा पर्न गयो। शरीर पूरै झनन्न भयो र पहिले त उसले अरु कसैका लागि लेखेको हो कि भन्ने लाग्यो। कमेन्ट्हरुमा आँखा दौडाएँ। मनले नमाने पनि उसैका लागि श्रद्धाञ्जली अर्पण गरिएको कुरा स्वीकार गर्नै पर्‍यो। हामी बूढा-बूढी दुबै जना दुखी भयौं। मनमा एक तमासको चीसो रहिरह्यो। शरीरमा उम्रिएका काँडा धेरै बेरसम्म हराएनन्। ऊसंग भएका कुराकानी सम्झिदैं गएँ।  उमेर ४५-४६ वर्ष  भने जस्तो लाग्छ।  रोग  पनि त्यति जटिल भइसकेको थिएन।  मुटु, मृगौला वा मधुमेह जस्ता अन्य समस्याहरु पनि थिएनन्। एक त उमेरदार मान्छे, त्यस माथि  सबल स्वास्थ्य स्थिति।  प्रत्यारोपणको प्रकृया त सहजै झेल्न सक्नु पर्ने हो। ऊ भन्दा चौथाई शताब्दी जेठो मान्छे  म सद्दे नै छु। कतै केही त्रुटि नभईकन  उसको अन्त्य भएन होला भन्ने लाग्यो। आखिर के हुन गएछ त? मनमा  खुल्दुली लागिरह्यो।  कतै उपचार प्रकृयामै केही तल माथि हुन गयो कि भन्ने शंका गर्न पुगें।  ऊ आफ्नो उपचार प्रति ढुक्क देखिन्थयो र ऊसंगका कुराकानीबाट म पनि  निकै उत्साहित बन्न पुगेको थिएँ।। साथै मेरो आफ्नो रोग अनुरुपको उपचार पनि   अब स्वदेशमै  उपलब्ध हुनेछ  र  उपचारकै लागि भनेर मैले अन्यत्र दौडिन पर्ने छैन  भन्नेमा  निकै आशावादी पनि। तर यो घटनाले म फेरि अलिकति झस्किन पुगेको छु।  देशमा ठूला-ठूला अस्पतालहरु खुलेका छन्। आधुनिकतम चिकित्सा सेवा पनि उपलब्ध गराइएको छ। पेशा प्रति समर्पित विज्ञ डाक्टरहरु पनि नभएका होइनन्।  जटिलतम रोगको उपचार पनि यी आँखा अगाडि भइरहेकै छ। यति हुँदाहुँदै पनि देशको चिकित्सा सेवा प्रति हाम्रो मन त्यति आश्वस्त हुन सकेको छैन।  डाक्टरी  विद्या र अभ्यासका तौरतरिका त  सबै तिर उही नै  हुनु पर्ने हो। विश्व भरि चलाइने औषधीहरु पनि उही नै हुन्। तर परिणांमका हिसाबले किन हामी त्यति सन्तुष्ट हुन सकिरहेका छेनौ?  किन जनमानसको मुखबाट गुनासाका स्वरहरु मात्र सुनिने गर्छ? कारणहरु थुप्रै हुन सक्छन्। कहाँ के कुरा अपूरो हुन गएको हो, त्यसको  पहिचान गरी तत्काल निराकरण गरिने परिपाटी  सुचारु नभएसम्म  उत्तरदायित्वविहीन एकोहोरो सेवा प्रवाहले मात्र स्वास्थ्य क्षेत्र भरपर्दो हुन  सक्ला जस्तो लाग्दैन। 

हुन त दिन आएपछि कसैको केही लाग्दैन भनिन्छ। यो एउटा भनाइ मात्रै नभएर कटु यथार्थ पनि हो। मृत्यु माथि हाम्रो वश नचले पनि आजको दिनमा औषधी-उपचारका  उपायहरुको सही चयन तथा उचित प्रयोग हुन सके असाध्य रोगबाट पीडित रोगीहरुले  पनि लामो समय सम्म मनोवाञ्छित हिसाबको जीवन जिउन सक्ने कुरामा शङ्का गरिरहन पर्दैन। । म आफैं तिर यसो फर्केर हेर्ने गर्छु। रगतमा सत्तरी प्रतिशत क्यानसरयुक्त कोशिकाले ठाऊँ ओगटिसकेको र मृगौला आधा बिग्रिसकेको नाजुक स्वास्थ्य स्थितिको म आजस्म्म यसरी सशक्त रहन सक्नु र  सकृय दिनचर्याहरु सहितका दिनहरु व्यतित गर्न सक्षम हुनुको एक मात्र कारण  यहाँका यिनै औषधीहरु र सुव्यवस्थित उपचार सेवा नै हो भन्न मलाई कुनै हिच्किचाहट  लाग्दैन। म फेरि एक पल्ट त्यो कृष्ण भाइलाई सम्झिन पुग्छु र यदि यस्तै किसिमको अवसर जुरेको  भए ऊ पनि अहिले सम्म आफना लालाबाला तथा प्रियहरुका साथ  हाँसखेल गरिरहेको हुन्थ्यो होला भनेर गम्न थाल्दछु।

क्यानसर रोग मेरा लागि त्यति नौलो रहेन। मेरो आफनै परिवारमा पनि मेरी दिदी (माइलाबुवाकी छोरी) फोक्सोको क्यानसरबाट पीडित रहेकी धेरै वर्ष भइसक्यो। उनी अझै पनि यहीं अमेरिकामै रोग विरुद्धको लडाइँ लड्दै छिन्। यसैगरी, भाञ्जी-बहिनीकी छोरी (फुपूकी नातिनी) कलिलै उमेरमा यसको शिकार हुन पुगेकी थिइन्। मावाली तिर सानी माइजु र म भन्दा १५ दिनले जेठी उनकी छोरी  दुबै नै क्यान्सरग्रस्त हुन पुगे र विदा पनि भइसके। ठूलो मामाको छोरी पनि स्तन क्यानसर्  पीडित  हुन पुगिन् र उनले पनि आफ्नो बाटो तताइसकिन्। मेरा हजुरबाहरुको दोश्रो पुस्ता भित्रै म पाँचौ नम्बरको  क्यानसर रोगी बन्न पुगेको छु। म भन्दा पछिकोमा मेरी भाञ्जीलाई पनि भर्खर-भर्खरै स्तन क्यानसर देखियो। मेरी श्रीमतीकी माइजु पनि यसै समूहमा मिसिन आउनु भएको छ।  विरलै मात्र सुनिने-देखिने क्यान्सर् रोग आजका दिनमा आम हुँदै आएको वास्तविकता स्वीकार नगरी सुख छैन। तर जुन रुपमा यो रोग आम हुँदै गइरहेको छ, सोही अनुरुप यसका औषधीहरु उपलब्ध हुन नसकेको र भएका पनि सर्वसुलभ हुन नसकेको कारणले अन्य रोगहरुको तुलनामा यो रोगको उपचार तथा व्यवस्थापन  अझै जटिल एवं चुनौतिपूर्ण  नै रही आएको छ।  यसैगरी,  नियमित उपचार, औषधी सेवन तथा निरन्तर अनुगमनमा रहनु पर्ने भएको र केही पथपरहेज समेत अवलम्बन गर्नु पर्ने भएकोले रोग नियन्त्रणमै रहेको अवस्थामा पनि बिरामीको जीवन यापन  चाहे जस्तो स्वतन्त्र हुन नसक्दो रहेछ भन्ने म आफैंले अनुभव गर्दैछु। खासगरी,  नेपाल भ्रमणको चाँजोपँजो मिलाउन नसक्दा हात-खुट्टा बलिया हुँदाहुँदै पनि  कुँजिएर बस्नु परे जस्तो महसुस हुने गर्छ। चार-छ महिनामा त अवश्य नै फर्किएला भनेर आएको- डेढ वर्ष बितिसक्दा पनि यो हप्तै पिच्छेको इन्फ्यूजनले फुत्किनै पाइएन। औषधीका लागि भनेर सधैं बाँधिएर बस्नुको के अर्थ भयो र भन्ने लाग्यो। त्यसैले उपचार खण्डित नै गरेर भए पनि एक पटक त नेपाल नपुगी भएन भनेर डाक्टरसंग सल्लाह गरें। यहाँ रोकटोकको चलन रहेन छ। केवल भ्रमणका बेला अपनाउनु पर्ने सजगताका विषयमा सामान्य कुराकानी भयो। नेपाल बस्दाका लागि भनेर  औषधीहरुको जुगाड गर्न सकिएन। उपचार ठप्प हुने भयो। जेसुकै होस् भनेर  एक महिना जतिको योजना बनाएँ। हामी बूढा-बूढीलाई मात्र पठाउन छोरीहरु राजी भएनन्। कान्छी छोरी-जुवाइको  नेपाल जाने कुरा चलिरहेको थियो। उनीहरुले नै  संगै लाने  र ल्याउने गरी हामी पनि मिसिने भयौं। लामो समय देखिको धोको पूरा हुने भयो भनेर म निकै उत्साहित भएँ र यात्राको तयारीमा  लागें।

उपचार निरन्तर चलिरहेकै थियो। सातौं साइकलको उपचार सकिए पछि नेपाल जाने साइत जुर्‍यो। उता सबै जना आँखा तानेर बसिरहेका थिए र  तयारीमा जुटेका  थिए।  सरसफाइ, पानी तथा भात-भान्छाको जोरजाममा भाइहरु र बुहारीहरुले आकाश-पाताल जोडेका रहेछन्।  घर भित्र प्रवेश गरे पछि बसुञ्जेलको अवधिसम्म  त्यही क्रम जारी रह्यो – कतै कहिल्यै सिन्को समेत भाँच्नु परेन। सधैं सबै संगसंगै नै भयौं। कान्छो भाइ र बुहारी रीमा त यतै बसेका थिए। एक त आफ्नो घर-   आँङ   त्यसै पनि हलुका हुने नै भयो, त्यस माथि परिवार संगको यो स्नेह तथा सामिप्यले मन पनि निकै हलुको गरायो। । मङ्सिर मध्य तिरका दिनहरु। बिहान देखि सांझसम्मकै मीठो पारिलो घाम, हावाको उही सुपरिचित गन्ध, आँखामा झुण्डिएर बसेका  वरिपरिका दृश्यहरु,  सधैं सुनिने गरेका स्वर तथा खैलाबैलाहरु। मन-मस्तिष्कका  यस्ता अभ्यस्त अनुभूतिहरुले   झण्डै दुई वर्ष देखिको मेरो नियास्रो राम्रैसंग मेटिन पुग्यो। त्यस माथि, दिनभरि जस्तै आफन्तहरुसंगको भेटघाट र भलाकुसारी। उनीहरुसंगको ससन्मुख कुराकानीले   मनको उकुसमुकुस सबै सफाचट हुने गर्थ्यो। मेरो खासै काम केही थिएन। भएका कामहरु पनि अह्राइ-पह्राइले नै टर्दथ्यो। स्वास्थ्यमा पनि कुनै समस्या आएन। आँटेर नेपाल आएको- ठीकै गरिएछ भन्ने लाग्यो।  यसरी बेला-बेलामा आउन सक्ने भइयो भने त के चाहियो र भन्ने सोचें। तीन हप्ता बितेको पत्तै भएन।  छोटै भए पनि यो बसाइले  मेरो मनको तिर्खा केही मत्थर हुन पुग्यो र म  छोरी र नातिनी सहित अमेरिका फर्कें।

यता आए पछि  पुन औषधी-उपचारको क्रम शुरु भयो र बाँकि रहेको  आठौं साइकल पनि पूरा गरियो।। रगतमा क्यान्सरको उपस्थिति स्थिर अर्थात् नियन्त्रणमै रहेको देखियो। यसबाट, अहिले चलाइएका औषधीहरु प्रभावकारी रहेको  भन्ने बुझिंदो रहेछ। त्यसैले, शरीरले खप्न  सकुञ्जेल यिनै औषधीहरुलाई  निरन्तरता दिने कुरा भयो। अबका लागि भने हप्तैपिच्छेको  इन्जेक्शन्‍लाई हरेक दुई हप्तामा  र प्रत्येक  दुई हप्तामा लगाउने गरिएको इन्जेक्शन  चार हप्तामा लगाउने भनिएको छ। रोग नियन्त्रणमा रहनु तथा उपचार प्रकृया सरल हुँदै जानु भनेको अवश्य पनि ठूलै उपलब्धि हो। म यसैमा खुशी  छु।

जिन्दगीले एक अनपेक्षित मोड लिई नै हाल्यो। अब यसैले तय गरेका बाटाहरुबाट गुज्रिनु छ।  अहिले सम्मको बाटो त राम्रैसंग काटियो। बिस्तारै यहाँको बसाइ तथा दैनन्दिनीको   बानी पर्दै गइरहेको छ।  दिनहरु फुर्सदिला छन्।  मलाई अक्सर मेरा भ्याइ-नभ्याइका  पुराना दौडधूपहरुको   सम्झना आउँछ। त्यो हिसाबले कहिलेकाहीं अहिलेको यो फुर्सदिलो दैनिकी अलि खल्लो लाग्ने गर्छ। तथापि  अबका लागि नयाँ व्यस्तताको झण्झट नबेसाउने निधो गरेको छु।   कुनै खास अभिरुचि   पनि स्थापित गरिएन। जीवनको यो कालखण्डका लागि भनेर जुन ताना-बाना बुनिएको थियो, ती पनि  यहाँको परिस्थिति तथा परिवेश अनुकूल हुन सक्ने कुरो भएन। जिन्दगी एक हिसाबले दिन कटाइमा मात्र सीमित हुन पुगे झैं प्रतीत हुन्छ।  खायो, बस्यो र नातिनीहरु संगको खेलबाडमा रमायो। हुन  त दिन काट्नु मात्र जीवन होइन भन्ने गरिन्छ। मेरो पनि  “जिउनु भनेको   ज्यूँदोपनको  आभाष हो   र आफ्नो ज्यूँदोजाग्दो स्वरुपको प्रदर्शन  हो”  भन्ने  मान्यता  छ। त्यसैले म यिनै  दिन कटाइका ससाना कृयाकलापहरुलाई नै आफ्नो जिजीविषाका रङ्गहरुले सिंगार्ने  गर्छु र त्यसैमा आफ्नो ज्यूँदोपन दर्शाउने प्रयासमा रहन्छु।  हाम्रा कृयाकलापहरु  नै हाम्रो ज्यूँदो अस्तित्वको द्योतक हो र यसैमा  नै हाम्रो जीवन्तता मुखिरित  हुने गर्छ  भन्ने मलाई लाग्दछ। त्यसैले नयाँ ठूला कुरा केही गर्न नसके पनि म कम से कम आफूले गरी आएका र गर्नु पर्ने कुनै पनि कुरा नछुटून् भन्नेमा  सजग रहन्छु  र बाँचुञ्जेलका मेरा दिनहरु सदैव  ज्यूँदोपनले परिपूर्ण रहन सकून् भनी प्रार्थना गर्ने गर्दछु।

One thought on ““ग्र्याण्डी देखि फ्र्याङ्कलिनसम्म”- ५ 

  1. Adarniya daju,hajur ko ati marmik ra hridaya chune atma rachana,padhda padhdai aasu ayo,lagcha hajur kasari eti saral hisab ma afno awastha lai prastut garna saknu huncha,shayad samay ra paristhiti le byakti lai eti paripakwa ra sahan shil banaudo hola,hats off daju ,kkunai shabda aena hajur ko prastuti lai samman garnu bahek🙏🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top