“ग्राण्डीदेखि फ्र्याङ्कलिनसम्म”

“ग्राण्डीदेखि फ्र्याङ्कलिनसम्म”

…………………कालान्तरले अहिले म आफैं अस्पतालको बेडमा आइपुर्गेको छु। मलाई लाग्छ- एउटा अंशको पटाक्षेप पछि अब अर्को दृश्य मञ्चन भएको छ। नाटकको यो भागमा म अब बिरामी कुरुवा तथा केयर टेकरको भूमिकाबाट आफैं बिरामीको रूपमा परिणत हुन पुगें र मेरो परिवार तथा हितैषीहरुले अब मेरो ठाऊँ लिने छन्। मैले पाएको भूमिका प्रति मेरो कहिल्यै गुनासो रहेन, बल्कि सदैव सन्तुष्ट रहें। नाटकको यो खण्डको अभिनय पनि म खुशीसाथ निर्वाह गरूँ र पर्दा नखसेसम्म जीवन्त रहन सकूँ।

मलाई मेरो स्वास्थ्य स्थिति राम्रै लाग्थ्यो। शारीरिक कृयाकलापको हिसाबले पनि म सबल  एवं सकृय नै थिएँ। शा.ने.वा.नि. को कार्यकालमा त वार्षिक रूपले स्वास्थ्य परीक्षण गराउनै पर्थ्यो र एउटा निर्धारित स्वास्थ्य मापदण्ड कायम राख्नु पर्थ्यो। त्यसपछि पनि  आफ्नो बढ्दो उमेर र परिवारमा विद्यमान वंशानुगत रोगलाई ध्यानमा राखी म बरोबर करिब ६ महिना देखि एक वर्ष भित्र स्वास्थ्य परीक्षण गराउने गर्थें। उच्च रक्तचापको सामन्य लक्षण वाहेक अन्य कुनै समस्या थिएन। स्वास्थ्य परीक्षणको नतीजा सधैं सन्तोषजनक नै हुन्थ्यो। यो पटक पनि नियमित परीक्षणका लागि डा. ओममूर्ति अनिलकोमा गएँ। सबै कुरा ठीकै त होला भन्ने लागेको थियो- तर मृगौलाको कार्यक्षमतामा ह्रास आएको देखियो। रगतमा क्रिएटिनिन बढेको रहेछ। केही महिना अघिसम्म ठीक रहेको क्रिएटिनिन किन बढ्न गयो भनी सोधखोज गरियो। तर खासै निर्क्यौल केही निस्केन। डा. अनिलले त्तत्काल ग्राण्डी अस्पतालका डा. विष्णु पहारीलाई संपर्क राख्न सुझाउनु भयो र म भोलि पल्टै थप सरसल्लाहका लागि ग्राण्डी अस्पताल पुगें।

डा. पहारीको तर्फबाट पनि पेटको अल्ट्रा साउण्ड लगायत अन्य केही थप परीक्षणहरु भए- तर कुनै ठोस कारण स्थापित हुन सकेन। मेरो केसमा, स्वास्थ्यका  अन्य सूचकाङ्कहरु भने ठीकै रहेकाले  अस्थायी प्रकृतिको कारणबाट मात्र किड्नीमा खराबी देखिएको  हो कि भन्ने अनुमान लगाइयो। यदि त्यसो हो भने केही समय पछि स्वत सुधार आउन सक्ने भएकोले  दुई हप्ता जति पर्खने र त्यसपछि पनि मृगौलाको काम सन्तोषजनक अवस्थामा नफर्किए बायोप्सी गरी वास्तविक कारण पहिचान गरिने भन्ने सल्लाह भयो।

दुई हप्ता पछिको रगत परीक्षणबाट आशातीत परिणाम आएन। बरु  क्रियएटिनिन बढेर २.०७ बाट २.६ पुग्यो। यसलाई  खतरापूर्ण संकेतको रुपमा लिइने रहेछ। त्यसैले यथासक्य शीघ्र (भरे-भोलि) नै बायोप्सी गर्नु पर्छ भन्नु भयो। म र संगै रहेकी मेरी श्रीमती अलि असमञ्जसमा पर्‍यौं। डाक्टर साहेबले सबै कुरा सविस्तार संझाउनु भयो- र बायोप्सी गर्नु पर्ने कारण म कागजमै पनि लेखिदिन्छु भन्नु भयो। हामी अझै आश्वस्त हुन सकेनौं। कुरैकुरामा छोरी-ज्वाइं पनि अमेरिकामा डाक्टरी पेशामै भएको कुरा निस्कियो। वहाँले बडो सद्भावपूर्वक “चाहनु हुन्छ भने मसंग कुरा गराउन सक्नुहुन्छ” भनी आफ्नो फोन नम्बर दिनु भयो। म वहाँको सौजन्यताबाट निकै प्रभावित भएँ साथै वहाँको यो सहानुभूतिपूर्ण व्यवहारका लागि दिलै देखि  आभारी हुन पुगें।

आपसी कुराकानीमा बोलीबचनको ठूलो महत्व रहन्छ।  मर्म संझेर बोलिएको दुई शब्दले जो कोहीको पनि मन छुन्छ। घर आएर छोरी-ज्वाइसंग तुरुन्त सल्लाह गरी हाल्न अमेरिकाको समय अनुकूल भएन। किड्नी बायोप्सी के रहेछ त भनेर जान्न गुगलको शरण परें। केही बुझें केही बुझिन पनि। तर एउटा कुरा स्पष्ट भए जस्तो लाग्यो। मृगौलाको वास्तविक अवस्था तथा त्यसको कार्यक्षमताको सही मूल्याङ्कनका लागि बायोप्सी एक भर पर्दो माध्यम  रहेछ। त्यसैले कसैसंग परामर्श नै नगरी डाक्टरलाई फोन गरें। बायोप्सीको लागि पर्सिपल्टको दिन निश्चित भयो। त्यतिञ्जेलसम्म डा. पहारी र ज्वाइबीच पनि कुरा भइसकेको रहेछ- बायोप्सीको मेरो निर्णयको सबैबाट अनुमोदन भयो।

बायोप्सीको प्रकृया बारे डा. पहारीले मलाई बताइसक्नु भएको थियो। बिहान १० बजे तिर खाना खाएर अस्पताल आउने, ३ बजे तिर बायोप्सी गर्ने र त्यो रात अस्पतालमै बसी भोलिपल्ट घर जान सकिने जानकारी पाइयो। सामान्यतया बायोप्सी प्रकृया सरल एवं जटिलतारहित ढंगले सम्पन्न हुने भए तापनि मेरो केसमा रक्तश्रावको जोखिमलाई ध्यानमा राखी दुई पोका रगत तयार राखिने कुरा भयो।

मेरा लागि किड्नी बायोप्सी नयाँ तथा नौलो विषय थियो। आफूले चिनेजानेको कसैको पनि किड्नी बायोप्सी गरेको मैले सुनेको थिइन। त्यसैले मानसिक रुपमा जतिसुकै आश्वस्त हुन खोजे पनि भित्री मन भने डरमुक्त हुन सकेको थिएन। त्यसमाथि, सामाजिक सञ्जाल तथा मिडियाहरुमा प्रकाशित भइरहने अस्पतालका नकरात्मक पक्षका कुराहरु   दिमागमा खेली रहन्थ्यो।  बायोप्सी गर्दा केही तल-माथि हुने हो कि भन्ने चिन्ता हटाउनै सकिएन।

हामी झण्डै सिनामंगल बस्नेहरुकालागि ग्राण्डी अलि अपायक लाग्थ्यो। आफ्नै गाडी प्रयोग गर्दा पनि करिब एक घण्टा छुट्याउनु पर्ने।  त्यसैले अलि छिटै निस्कियौं र हस्याङफस्याङ गर्दै १० बजे अगावै अस्पताल पुग्यौं। क्लिनिक बाहिर लाइन लम्बिसकेको थियो- १२ बज्ने बेलातिर मात्र पालो पाइयो। हाम्रा अस्पताल तथा क्लिनिकहरुमा यो पट्यार लाग्दो पर्खाइको व्यवस्थापन गर्न किन नसकिएको होला भन्ने लाग्यो।  सबैलाई एकै समयमा बोलाइएको  त पक्कै होइन होला। समय पालनाको महत्व हामीलाई कहिल्यै वोध भएन। पर्खिने र पर्खाउने बानी नै लागिसक्यो।

बायोप्सीका लागि डायलाइसिस कक्ष भित्र पसेपछिका कामहरु भने सुचारु नै रह्यो। साँझ क्याविनमा सरे पछि आराम गर्ने बाहेक अरु काम केही थिएन। तर, यो आराम गर्ने काम कति कठिन हुँदो रहेछ- मैले त्यस दिन थाहा पाएँ। करिब १२ घण्टा जति ओल्टे-कोल्टे नफेरी उत्तानो सुत्नु पर्ने- त्यसमा पनि पहिलो ४ घण्टा तकिया विना। चलहल गर्न नसक्ने विरामीहरु हप्तौं-महिनौंसम्म कसरी सुते होलान् वा सुत्छन् होला भन्ने लाग्यो। जीवनको अन्त्यकालमा लामो समयसम्म ओछ्यान परेका आफन्तहरुलाई सम्झिन पुगें। आमाका अन्तिम दिनहरु आँखा अगाडि झल्झली घुम्न थाल्यो। आङ जिरिङ्ग भयो। आफ्नो भोग कस्तो हुने हो भन्ने परिकल्पना आइरह्यो।  पछि “जसले पीडा दिन्छन्, उसैले सहने शक्ति पनि त देलान्” भनेर चित्त बुझाएँ।

करिब दुई घण्टाको फरकमा रातभरि जस्तै नर्सहरु रक्तचाप, जरो इत्यादि जाँच्न आइरहे। बायोप्सी पछि मेरो रक्तचापमा गिरावट आएको थियो। त्यसैले म रक्तचाप तथा अन्य कुराहरु बारे जान्न उत्सुक रहन्थैं। कोही बताउथें, कोही बताउदैनथे। सोधीहाले पनि ठीकै छ भन्ने उत्तर पाइन्थ्यो। कोही भने के-कस्तो छ भनेर हालखबर पनि सोध्न भ्याउथें।  बिरामीसंग कति बेला के संवाद गर्ने हो- त्यो त उनीहरु नै जानून्, तर बिरामीलाई भने चिकित्साकर्मीहरुसंगको एउटै  शब्द पनि सञ्जीवनी तुल्य हुँदो रहेछ।

बिहान डाक्टरको राउण्ड भयो। हेमोग्लोबिन घटेको रहेछ। तयार पारेर राखिएको रगत काम लाग्यो। रगत चढाउनका लागि त्यो रात पनि अस्पताल नै बसियो र भोलिपल्ट मात्र घर आइयो।

विरामीको रुपमा अस्पतालको बेडमा सुतेको यो पहिलो पल्ट हो। सबैजसोले अस्पताललाई भोगेकै हुन्छन् र सबैका आ-आफनै किसिमका अनुभव पनि होलान्। छिटपुटको अपवाद बाहेक सबैको जन्म अस्पतालमै हुन्छ र मरण पनि। बाँचुञ्जेलको यो अवधिमा पनि रोगव्याधिको कालो छायाँ बाट जोगिई एक स्वस्थ्य र सकृय जीवन यापन गर्न  अस्पतालको आश्रय नलिई सुखै छैन। तथापि किन हो- अस्पताल बसाइ कसैका लागि पनि प्रिय हुँदैन। स्वभावैले हामी सबै अस्पतालसंग दूरी राख्न चाहन्छौं। जतिसुकै सुविधासम्पन्न भए पनि अस्पताल भित्रको वातावरण रुचिकर हुन सक्दैन। मनमा एक किसिमको आशंका तथा भय मिश्रित उकुसमुकुस व्याप्त रहन्छ। हावामा रुमल्लिएको एक प्रकारको रसायनयुक्त गन्ध, अन्य विरामी वा सेवाग्राहीहरुको उपस्थिति, चिकित्साकर्मीहरुको व्यस्त कृयाकलाप- यी  कुनै पनि कुरा मैत्रीपूर्ण लाग्दैनन्। हुन त पहिले पनि यी कुराहरु महसुस गरेकै हो- तर यसपाली ग्राण्डी अस्पतालमा आफैं विरामीको रुपमा रहँदा बेग्लै किसिमले अनुभूत हुन पुग्यो।

बिरामीको शरीर मात्र होइन मनस्थिति पनि अस्वस्स्थ्य रहन्छ। हाम्रा अस्पतालहरुमा यो मनस्थितिको पक्ष भने अलि उपेक्षित हुने गरेको देखिन्छ। भौतिक तथा प्राविधिक क्षमता अनुसार अस्पतालले दिने उपचार सेवामा विविधता हुनु स्वभाविक नै हो, तर विरामी माथि गरिने व्यवहारमा भने कुनै किसिमको उपेक्षा तथा हेलचक्र्याइंको गुञ्जायश हुनु हुदैन भन्ने मेरो धारणा छ। बिरामीको आ-आफ्नो किसिमको समस्या अनुरुपका चाहना तथा  अस्पतालबाट प्राप्त हुने सेवा प्रवाहका बीच तालमेल नहुँदा एक प्रकारको असमझदारी पैदा हुन जान्छ। आफ्नो शारीरिक अवस्था, रोगको जटिलता तथा उपचार प्रकृया सम्बन्धमा बिरामी वा बिरामीका सरोकारवालाहरुलाई चासो रहनु स्वाभाविकै हो। परन्तु, हाम्रा अस्पालहरुमा सेवाग्राहीहरुलाई   उचित ढङ्गले सुसूचित गर्ने परिपाटी अझै पनि त्यत्ति प्रभावकारी हुन सके जस्तो लागेन।

तेश्रो दिन बायोप्सीको रिपोर्ट तयार भएको फोन आयो र डाक्टरलाई भेट्न क्लिनिकमा पुगें। पालो पर्खुञ्जेल हातमा भएको रिपोर्ट दशौं चोटि पढें। नबुझेको शब्दहरुका लागि गुगल पनि गरें। तर नराम्रो आशङ्का केही खुट्याउन सकिएन। डाक्टर साहेबले पनि नाकको चस्मा तल माथि सार्दै दोहोर्‍याई-तेहर्‍याई पढे जस्तो लाग्यो। मनमा चिसो पस्दै गयो। “मैले देखेको कुरा भन्नु मेरो कर्तव्य हो” भन्दै वहाँले रक्त विकृतिका कारण मृगौलामा क्षति पुगेको  र तत्सम्बन्धी  उपचार नगरी अन्य उपायहरु फलदायी हुन नसक्ने भएकोले प्रथमतः रगत विशेषज्ञसंग  परामर्श गरी  उपचार प्रकृया अघि बढाउनु पर्ने कुरा बताउनु भयो।

डाक्टर पहारीको सुझाव बमोजिम हामी एकजना रगत विशेषज्ञको जावलाखेल स्थित क्लिनिकमा पुग्यौं। विहान ७ बजे बोलाइएको थियो। त्यहाँ पनि साढे आठ नबजी डाक्टर भेटको अवसर जुरेन।  विगत एक महिना देखिको  स्वास्थ्य परीक्षणका रिपोर्टहरु र पुराना रेकर्ड समेतको ठेली नै लिएर भित्र पस्यौं। ग्राण्डी अस्पतालको उपचार तथा सम्बन्धित रिपोर्टहरुका आधारमा कुरा शुरु मात्र भएको थियो-  एकाएक वहाँको स्वर तथा लवजको पारा चढ्दै गएको महसुस गर्न पुगें। मैले कतै केही बिराएँ कि भनेर पुन सम्हलिदै आफ्ना कुराहरु राख्ने प्रयास गरें, तर सफल हुन सकिन। मेरी श्रीमती, छोरी र म तीनैजना ट्वाल्ल परेर वहाँको कुरा सुनीरह्यौं। वहाँले प्रयोग गर्नु भएको मेडिकल शब्दावलिको बाहुल्यता तथा वहाँको लवजले हामी स्तब्ध हुन पुग्यौं। म अचम्भित पनि भएँ। वहाँ जस्तो एउटा सम्मानित तथा सिद्धहस्त डाक्टरले म जस्तो एउटा भयावह रोगको आशङ्काबाट त्रस्त सत्तरी छेउछाऊको मान्छेको  आतङकित मनस्थिति बुझ्न सक्नु भएन, न मेरी श्रीमतीको मुखमा छरपस्ट पोतिएको निरीह एवं पीडापूर्ण विनित भाव देख्न सकनु भयो। न वा बाबुको बिमारीको कुरा सुनेर विदेशबाट हाम्फाल्दै आएकी एउटी छोरीको मनमा वहाँका प्रति रहेको आशा, भरोसा तथा सम्मानलाई चिन्न सक्नु भयो। वहाँका आफ्नै स्वभाव, मूल्य-मान्यता होलान्, तर मलाई  भने त्यो दिन वहाँको बोली-व्यवहार डाक्टरी पेशा सुहउँदो लाग्न सकेन। साथै वहाँले हाम्रो मनमा  एउटा भद्र तथा सुसंस्कृत मानिसको रुपमा स्थापित हुन सक्ने अवसर गुमाउनु भएजस्तो लाग्यो।

व्यक्तिगत रवैया जे जस्तो लागे पनि वहाँले आर्जन गर्नुभएको ज्ञान र सीप प्रतिको मेरो  कदरभाव कम भएन र वहाँलाई शुभचिन्तककै रुपमा ग्रहण गर्न मलाई कुनै संकोच भएन। वहाँले ग्राण्डीको रिपोर्ट अधुरो रहेको र त्यसमा उल्लेख गर्न छुटेका विवरणहरु समावेश गर्न लगाई भोलिपल्ट भेट्नका लागि बोलाउनु भयो। साथै  केही नयाँ परीक्षणका लागि लेखिदिनु भयो।

वहाँको पर्ची अनुसारको परीक्षण त त्यहीं गराएँ। ग्राण्डी पुगेर पुरानो रिपोर्टलाई थप विवरण सहित  सच्च्याएर ल्याउने भन्ने कुरा चाहि मेरा लागि सगरमाथा चढेर आइज भने जस्तो लाग्यो। तथापि एक पटक फोन गरेर सोधूँ भन्ने लाग्यो र सोझै प्याथोलोजी ल्याबमा सम्पर्क गरें। भाष्कर नाम गरेका सज्जनसंग कुरा हुन पुग्यो। त्यो दिन प्याथोलोजिस्ट अनुपस्थित रहने भएकोले भेट्न नसकिने जानकारी पाइयो। मैले मेरो समस्या सहित विशेष रुपले अनुरोध गरे पछि सम्बन्धित प्याथोलोजिस्टलाई फोन गरेर सोधिदिने र मलाई खबर गर्ने आश्वासन पाँए। ग्राण्डीसम्म धाउन नपरेकोमा  म भित्रैदेखि गद्‍गद् भएँ र उनलाई धन्यवाद दिएँ। तर बेलुकीसम्म खबर आएन र पछि पुन फोन गरें। भाग्यवश उनैसंग सम्पर्क भयो। मेरो सन्दर्भमा, खोजिएको विवरणहरुको नतीजा नेगेटिभ भएकोले रिपोर्टमा उल्लेख नगरिएको रे भन्ने कुरा बताइयो- तर लिखित रुपमा तुरुन्त केही पाइने संभावना रहेन। फोनकै भरमा यति कुरा थाहा पाउनु मेरो लागि त ठूलै उपलब्धि जस्तो लाग्यो- तर रे-रेको यो मौखिक सूचनाको के नै उपयोगिता होला भन्ने सोचले उत्साहित हुन सकिन। त्यसमाथि डाक्टर साहेबको डरले गर्दा पुन वहाँको सामना गर्ने हिम्मत जुटाउन सकिन र रगत विशेषज्ञसंगको परामर्श त्यसै तुहिन गयो।

संक्षेपमा भन्नु पर्दा खल्तिभरिको पैसा, मनग्य समय र आफ्ना प्रियजनहरुको साथ हुँदाहुदै पनि मेरो रोगले किटानी सहितको आधिकरिक पहिचान पाउन सकेन। शंकैशंकाले लंका जलिसक्दा पनि आफू भने असहाय र अन्यौलग्रस्त स्थितिमा रहन बाध्य हुन पुगें। मनस्थिति हतासिन थाल्यो। महिना दिन अघिदेखिको अनेक भागदौड तथा  झंझट संझिदा त्यसै अल्छी लागेर आयो। चिकित्सा सेवामा सम्बद्धहरुबाट मैले जुन प्रकारको साहस र ढाडसको अपेक्षा गरेको थिएँ त्यो त पाइन नै, उनीहरुको व्यावसायिक व्यवहारमा पनि मानवीय संवेदनाशीलता तुलनात्मक रुपले अलि ओझेलमै परेको महसुस हुन पुग्यो। उनीहरुलाई म जस्तो विरामीहरुको के खाँचो?  सबैलाई भने-भने जस्तो ध्यान पुर्‍यउन  नसकिएला,  तर पनि विरामीको  मानसिक पक्ष गौण मानिनु हुदैन। अन्यथा जतिसुकै स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइए पनि बिरामीको चित्त दुखाई कायम नै रहन्छ र चिकित्सा पद्दतिमा भौतिक तथा प्रविधिक पक्ष मात्रले जतिसुकै ठूलो फड्को मारे पनि आशातीत रूपले त्यति प्रभावकारी हुन सक्ला जस्तो लाग्दैन।

अब मेरा लागि दुईवटा विकल्प रह्यो। काठमाणडूमै अर्को कुनै हेमाटोलोजिस्ट खोज्ने वा भारत तिर लाग्ने। घरमा सल्लाह भयो। साथै दिल्लीस्थित अस्पतालहरुको उपचार अनुभव बटुलेका अन्तरङ्ग मित्रहरुसंग पनि फोन सम्पर्क गरियो। सबैले हाल समाजमा प्रचलित दिल्ली दौडलाई नै सुझाए। तर अमेरिकाबाट बाबु स्याहार्न आएकी छोरी भने अमेरिका तिरै जाने भन्नेमा थिइन्। म केही हप्ता अघि मात्र फर्केको र छोरीको पनि विदा बाँकि नै रहेकोले जानैपरे पनि दुई हप्ता पछि जाने कि भन्ने कुरा भयो र सोही अनुसार डाक्टर छोरी-ज्वाइ संग परामर्श गरियो। उता मेरो विषयमा सम्बन्धित चिकित्सकहरुसंग सामान्य छलफल भइसकेको रहेछ र मैले पठाएको रिपोर्टहरुको आधारमा तुरुन्तै उपचार शुरु गरिहाल्नु पर्ने अवस्था रहेको र यदि दुई हप्तापछि  मात्र अमेरिका आउने हो भने पहिलो चरणको उपचार नेपालमै शुरु गराई हाल्नु  पर्ने   निष्कर्श निस्किएको रहेछ।

अब भने म अलि आत्तिएँ। जहाँ मेरो रोगको आधिकारिक पहिचान नै भएको छैन- त्यहाँ म कुहिरोको काग झै. कहाँ भौंतारिन जानू। पर्सिपल्टकै टिकट काटें र एक महिनाको लागि आएका छोरी, नाति समेत साथमा लिई अमेरिका पसें।

छोरी-ज्वाइ डाक्टरी पेशामै भएको हुनाले प्रारम्भिक स्वास्थ्य परीक्षणको समय मिलाइसकिएको रहेछ।  तथा तत्कालका लागि बीमाको झञ्झटिलो काम पनि निप्ट्याइसकिएको रहेछ। अवतरण गरेकै दिन जचाउन गइयो। सामान्य परीक्षणहरु भए। नतीजाहरु आउन बाँकि नै थियो। हेमाटोलोजिस्ट्संगको अप्वाइण्टमेण्ट त सात दिन पछिको मात्र पाइयो। तर ईमेल सम्पर्क भने जारी थियो। नेपालको रिपोर्टहरु सब पठायौं। त्यही रिपोर्टहरुको आधारमा क्षणभरमै मल्टिपल माइलोमा नामक रक्त क्यान्सर भन्ने पुष्टि गरियो र ईमेलकै माध्यमबाट भोलि पल्ट देखि किमो थेरापी सहितको उपचार प्रकृया शुरु हुन पुग्यो।

स्वदेशमा मैले हेंला गर्ने गरेको उपचार विधि तथा अविश्वास गर्ने गरेको प्रयोगशालाका रिपोर्टहरुले यहाँ सहजै मान्यता पाउँदा मलाई अलि आश्चर्य लाग्यो तर आनन्दित धेरै भएँ। आखिर डाक्टरी शिक्षा तथा अभ्यासको स्तर, उपलब्ध उपकरण तथा प्रविधिको प्रयोगमा एकरुपता रहुञ्जेल स्थान विशेषले के फरक पार्छ र?  फरक त मान्छेले पार्छ- कर्तव्यपरायणताको कमी, उत्तरदायित्वविहीन मनोवृत्ति, हेलचक्र्याइं, आत्मकेन्द्रित सोच तथा असंवेदनशील व्यवहार-यिनै हुन् हाम्रा कमजोरीहरु जसले गर्दा हामी आफैंमा विश्वस्त हुन सकिरहेका छैनौ र आफू र आफ्ना दुबैलाई हीन सम्झिने  गर्छौं।

जे होस्, ग्राण्डी अस्पतालबाट शुरु भएको यो प्रसंगले परिस्थतिवश बाल्टिमोरको मेडस्टार  फ्र्याङ्कलिन क्यान्सर सेण्टरमा आइपुगेर विश्राम लिएको छ। रोग लाग्दै नलागेको भए त जाती नै थियो- तर अब लागेर पनि केही नराम्रो भएजस्तो लागेन। जीवनमा  एउटा नयाँ अनुभव थपिने भयो। संघर्षका नयाँ आयामहरु जोडिने भए। विगतको जीवनशैलीबाट अलि अघाए जस्तो भएको थिएँ- अहिलेको यो परिवर्तनले एउटा नयाँ सोचको उदय भएको छ। नयाँ जाँगर पलाएको छ। जीवनलाई बेग्लै किसिमले बुझ्न थालेको छु। यात्रा लामो छोटो जे होस्, सहज र सकृय रुपले कटोस् भनेर बाटो सुहाउदो उर्जा सङकलन गर्दैछु। गन्तव्य त सुनिश्चित नै छ- तसर्थ यात्राको भरपूर आनन्द उठाउन कुनै कसर बाकि नराखूँ र निरन्तर अघि बढ्दै रहूँ।

यसै सिलसिलामा, हरेक हप्ता गरिने किमो थेरापीले आठौं हप्ता अर्थात् दुई साइकल पूरा गरिसकेको छ र हालको अवस्था अनुसार अर्को दुई साइकलसम्म यसैलाई निरन्तरता दिइने भन्ने छ। त्यस पछिको क्रममा “Bone Marrow Transplant” का कुराहरु उठेका छन्- र म एक आज्ञाकारी वालक झैं टाउको हल्लाइ-हल्लाई यी सब कुराहरु सुन्ने गर्दछु।    नियतिसंगको यो खेल कसरी अघि बढ्दै जाने हो?  हेर्दै जाऊँ र मजा मानी-मानी खेल्दै जाऊँ।

क्रमश…….

(मेरो रचनोन्मुख अनुस्मृतिको खेस्राबाट)

4 thoughts on ““ग्राण्डीदेखि फ्र्याङ्कलिनसम्म”

  1. सम्पूर्ण जानकारी प्राप्त भयो। हजुरको शीघ्र स्वास्थ्य लाभ होस भन्ने कामना गरेका छौ।

  2. शीघ्र स्वास्थ्य लाभको कामना दाई । 🙏🙏

  3. अंकल हजुरको शीघ्र स्वास्थ्य लाभको कामना श्री पशुपती नाथ संग गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top