“ग्राण्डीदेखि फ्र्याङ्कलिनसम्म”- २

“ग्राण्डीदेखि फ्र्याङ्कलिनसम्म”- २

दिन गन्दै जाँदा  मार्च महिना सकिएर अप्रिलको दोश्रो हप्ता लागिसकेछ। साथै किमो थेरापीको तेश्रो साइकल पूरा भई चौथो साइकल शुरु भएको पनि दुई हप्ता बितिसक्यो। यो अन्तरालमा माइलोमासंगको मेरो परिचय विस्तारै गाढिदैं गएको अनुभव गरेको छु र लाग्छ हामी दुबै एक-अर्कालाई विस्तारै चिन्दैछौं र बुझ्दैछौं। हामी बीचको हालसम्मको  खेलमा म अलि आक्रामक हिसाबले प्रस्तुत हुन पुगें र नतीजा पनि राम्रै निस्किदैं छ।  त्यसैले अबको खेल केही सहज  हुँदै जानेछ भन्ने सोचेको छु, तथापि मेरो प्रतिद्वन्दी निकै माहिर तथा अलि जिराहा प्रकृतिको खेलाडी परेछ। चार महिनाको पूर्वानुमानित समयावधि  दुई महिना लम्बिएर छ महिना पुर्‍याउने भयो। समय लम्बिएकोमा म खुशी नै छु। खोजेको पनि समय नै हो। बाहिर तिरको वातावरण पनि रमाइलो हुँदै आइरहेको छ। ऋतु परिवर्त्तनसंगै  घामका किरणहरु न्याना र उज्याला हुँदै छन्। सुकेर किङ्ग्रिङ्ग भएका रुखहरुमा हरियो रंग चढ्दै छ। चेरीका बोटहरु कुनै सेताम्य छन् भने कुनै वैजनी रंगले पोतिएका छन्। हिजो-अस्तिसम्म मृततुल्य देखिने यी निरीह वनस्पतिहरुमा यसरी जीवनको रंग  फर्किएको देख्दा म निकै उत्साहित भएको छु  र धैर्यपूर्वक पर्खिरहन सके मेरा दिनहरु पनि यसरी नै फिर्ने छन् भन्नेमा  ढुक्क छु।

अमेरिकी स्वास्थ्य सेवा बारे धेरैको मुखबाट धेरै कुराहरु सुनिएको थियो। झण्डै चार महिनाको यो छोटो अवधिमा दर्जनौ विभिन्न खाले परीक्षणहरु, हप्तै पिच्छेको किमो थेरापी, विशेषज्ञ चिकित्सकहरुसंगको बारम्बारको परामर्श तथा स्वास्थ्यकर्मीहरुसंगको बाक्लो सम्सर्गका कारण मैले पनि यहाँका अस्पताल, क्लिनिक तथा उपलब्ध स्वास्थ्य सेवा सम्बन्धमा आफ्नै किसिमका केही अनुभवहरु बटुल्ने अवसर पाएँ।  यस परिप्रेक्ष्यमा सुने-गरेका  कुराहरु केही गफैमा मात्र सीमित रहन पुगेका छन् भने केही कुराहरु सोचे भन्दा बढी पनि पाएको छु। जे होस्, राम्रा-नराम्रा पक्षहरु सबैको हुन्छन्। स्वास्थ्य सेवाको सवालमा प्रथमतः राष्ट्रिय नीति तथा कार्यक्रमहरु निर्णायक हुने गर्दछ। साथै कार्यान्वयन पक्षमा उपलब्ध श्रोत-साधन तथा जनशक्ति परिचालन इत्यादिको प्रत्यक्ष भूमिका रहन्छ। यो एक गहन विषयवस्तु हो। तसर्थ यो छोटो अनुभव तथा अधकल्चो ज्ञानको आधारमा अमेरिकी स्वास्थ्य  सञ्जाल बारे कुनै टिप्पणी गरिहाल्न म  उचित ठान्दिन, तथापि विरामीको रुपमा मेरा निजी अनुभवका केही प्रसंगहरुको उल्लेख भने सान्दर्भिक नै हुनेछ भन्ने ठानेको छु।

अमेरिका त आइयो- तर उपचार खर्च तथा त्यसको श्रोत कसरी जुटाउने भन्ने चिन्ताले मलाई पहिले देखि नै भित्र-भित्रै पोलिरहेको थियो। सुरक्षित तथा सबल वीमा योजनामा आवद्ध नहुँदाको अवस्थामा यहाँको स्वास्थ्य सेवा कति जटिल तथा असहज हुने रहेछ भन्ने कुरा मैले यो भन्दा अगाडिको अमेरिका बसाइका  बखत भोगिसकेको थिएँ। त्यति बेला दाँतको दुखाईका कारण दाहिने पट्टिको बङ्गारा निकाल्नु पर्ने भएको थियो। पहिलो एक-डेढ हप्ता त विसेक हुन्छ कि भनेर सहेरै बसियो। केही नलागे पछि बल्लतल्ल एउटा क्लिनिकमा जचाउन जाने तारतम्य मिलाइयो। दुखेको दाँत फ्र्याक्चर भएर जरा सम्मै फट्किसकेकोले ननिकालीकन पीडा शान्त हुने अवस्था थिएन।  तर दाँत निकाल्नको लागि छ हप्ता भन्दा अगाडिको समय पाउन सकिएन। त्यति बेला आफ्नो टोल वानेश्वरमा लहरै खुलेका डेण्टल क्लिनिकहरु सम्झिएँ। यहाँका  सेवाहरु मेरा लागि “ल्हासामा सुन छ कान मेरो बुच्चै” भने जस्तो भयो। दुई हप्ता जति त पीडा खपेरै बसियो। असह्य भए पछि विशेष सुत्रसहित एक जना नेपाली डेण्टिस्ट्को निजी क्लिनिकमा अलि मोटै रकम खर्च गरेपछि मात्र दाँत फुकालियो र मैले पीडाबाट पार पाएँ।

यस घटना पछि म पनि एउटा वीमा योजनासंग आवद्ध त भएँ तर निरन्तरता कायम राख्न छुटेको रहेछ। त्यसैले उपचार तथा खर्च सम्बन्धी मेरो चिन्ता स्वाभाविकै थियो। तर यहाँ आएपछि मेरो चिन्ता क्रमश दूर हुँदै गयो। छोरी-ज्वाइं दुबैजना  डाक्टरी पेशासंग सम्बन्धित भएकाले प्रथमतः म डाक्टर, अस्पताल तथा चालु उपचार विधिका तर्फबाट पूर्ण रुपले निश्चिन्त हुन पुगें र मेरो औषधि-उपचार तथा वीमा सम्बन्धी व्यवस्थाका लागि जे जति पापड बेल्नु पर्ने हो, त्यो पनि उनीहरुले नै बेले। यस सन्दर्भमा मैले एउटा काखे बच्चा झैं लम्पसार परिदिने बाहेक  अरु कुनै झण्झट बेहोर्नु परेन। खर्चको मामलामा पनि एउटा सुखद पक्षको अनुभूति हुन पुग्यो। उपचारका क्रममा धेरै ठाऊँमा जचाइयो, धेरै परीक्षणहरु भए, हप्तै पिच्छेको किमोले पनि निरन्तरता पाइ नै रहेको छ, दैनिक सेवन गर्नु पर्ने औषधिहरु पनि उपलब्ध भएकै छन्। तर यी यावत् कार्यका लागि मैले शुरुमै कतै कुनै शुल्क भुक्तान गर्नु परेको छैन। विरामीको रुपमा सूचिकृत भइसकेपश्चात्‌का यी सेवाहरु मैले एउटा इन्सुरेन्स कार्ड र परिचय-पत्रको आधारमा निर्वाध भोग गर्न पाइरहेको छु। कतै कुनै प्रश्न सोधिएन न वा कुनै भेदभाव महसुस गरियो। वीमाले नसमेटेको तथा आफूले कबूल गरेको दायित्वभित्रको रकमका लागि हुलाक मार्फत बिल प्राप्त हुँदो रहेछ जसको भुक्तानी आफ्नो सुविधा अनुसार गर्ने गरेको छु। अमेरिकाका झण्डै ३४ करोड नागरिक, करोडौं स्थायी आप्रवासीहरु,  विदेशी विद्यार्थीहरु, पेशाकर्मी इत्यादि सबै समेटिनका लागि प्रिमियम शुल्क तथा उपभोग गर्न पाउने सुविधाका आधारमा हजारौं किसिमका स्वास्थ्य कार्यक्रमहरु उपलब्ध गराइएका होलान्। तर मेरा लागि भने उपचार शुरु गर्नु अगावै नगद रकमको जोहो गर्नु नपर्दाको अवस्था नै  ठूलो  राहतको विषय हुन पुग्यो र यसैलाई यथावत् राख्न सके  आगामी उपचारहरुले पनि  निरन्तरता पाउने छ भन्नेमा आशावादी हुन पुगें।

अमेरिकी स्वास्थ्य सेवा प्रणाली विश्वमै उत्कृष्टतम मानिदै आएको हो। उत्कृष्टताका अनेकौं मापकहरु होलान्। ती मध्ये उपलब्ध सेवाहरुमा जरुरतमन्द सबैको सहज पहूच पनि एक हो। बिरामीलाई सहज र सुलभ ढंगले आवश्यक उपचार तथा हेरचाह उपलब्ध गराउन सके आधा रोग त्यसै हराएर जाने रहेछ। मेरो सन्दर्भमा डाक्टरसंगको अप्वाइण्टमेण्ट, परामर्श, औषधि सङ्कलन इत्यादि कार्यहरु ज्वाइ-छोरी बाट नै सम्पन्न हुन्छन्। स्वयम्  उपस्थित भई सम्पन्न गर्नु पर्ने क्रियाकलापहरुमा पनि मैले कुनै असहजता  महसुस गर्नु परेको छैन।  आफूलाई दिइएको समयमा उपस्थित भएपछिका परीक्षण तथा उपचारहरु सुचारु ढंगले नै सम्पन्न भएका छन्। उपचारको क्रममा मुख्यतः बिरामीसंगको प्रत्यक्ष कुराकानी  वा अन्तर-संवादलाई विशेष महत्व दिने गरेको देखियो। शुरुमै बिरामीले प्रयोग गर्ने भाषा सम्बन्धमा प्रश्न गरिदो रहेछ र  आवश्यकता परे दोभाषे  समेतको व्यवस्था गरिने रहेछ। यसैगरी,  बिरामीलाई उपचार प्रकृया तथा संभावित परिणाम, प्रयोग गरिने औषधिहरु र त्यसको साइड इफेक्ट, इत्यादि बारे सविस्तार जानकारी गराउने गरेको पाइयो। बिरामी वा बिरामीका सरोकारवालाहरुलाई सुसूचित गर्ने कार्यमा कतै कुनै कसर देखिएन। नर्सिङग् स्टाफहरुको बोलीबचन तथा व्यवहार औपचारिक नै भए पनि मित्रवत्  महसुस भएको छ।  साथै  बिरामीको उपस्थिति तथा अवस्था प्रति चासो देखाउन तथा सौहार्दता  प्रदर्शन गर्न अधिकांश स्वास्थ्यकर्मीहरु  सिपालु नै देखिए। सबै कुरा विधिसम्मत तथा प्रणालीगत रुपले चलेको पाइयो। सिस्टम र कार्यविधिहरु त हामीकहाँ पनि नभएका होइनन्। अस्पताल सञ्चालनका प्रकृयाहरु पनि स्थापित नै हुन्छन्। डाक्टर, नर्सहरुको अध्ययन, तालिम तथा योग्यता पनि स्वीकृत मापदण्ड अनुरुप पूरा गरिएकै हुन्छ। औषधि-उपचारका तौरतरिकाहरु पनि प्रचलित पद्धति अनुसार नै चलेको हुन्छ। तर साधन-स्रोतको कमीले हो वा  उचित व्यवस्थापन नभएर  हो- परिणाम सन्तोषप्रद हुन सके जस्तो लाग्दैन। विधि र प्रकृया केवल देखाउनका लागि मात्र भए। भनाइ र गराइमा ठूलो अन्तर रह्यो। सिस्टम भनेर बस्नेहरु  या त अवसरबाटै बञ्चित भए वा पछि पर्न थाले। विधि प्रतिको विश्वास कमजोर हुँदै गयो। हामी आफैं पनि आफ्नो सुविधालाई मात्रै सर्वोपरि सम्झिदै गयौं र आफू प्राथमिकतामा पर्न सधैं तँछाड-मछाड  गर्न थाल्यौं। फलस्वरुप मिचाहा प्रवृत्ति हावी हुँदै गयो र हामी त्यसैमा अभ्यस्त हुन पुग्यौं।

यिनै अनुभूतिहरुसंगै माइलोमा उपचार अब पाँचौ महिना प्रवेश गर्ने तरखरमा छ। उपचारका नतिजाहरु सकारात्मक तथा सन्तोषजनक नै छन्। क्यान्सरयुक्त कोशिकाहरुको उपस्थिति उल्लेख्य रुपमा घट्दै गएको छ। किमो थेरापीका कारण कपाल झर्ने, मुखमा टाटा-टुटी आउने, छाला सुख्खा तथा खस्रा हुने जस्ता प्रतिकूल असरहरु हालसम्म देखिएका छैनन्। शारीरिक दुर्बलता पनि महसुस भएको छैन। दैनिक क्रियाकलापहरु  यथावत् नै छ। तथापि, किमो शुरु  गरेको दिन देखि नै पेट तथा रुचि सम्बन्धी समस्याहरु देखिएका थिए। पहिलो केही हप्ता त कब्जियत, अरुचि तथा वाकवाकीले निकै सतायो। पछि विस्तार बानी पर्दै गयो र सोही अनुसार व्यवस्थापन पनि गर्दै गइयो। विगत एक महिना देखि भने मिश्रित खालका लक्षणहरु शुरु भएका छन्। अपच, ग्यास्ट्रिक, कहिलेकाहीँ पखाला तथा एकनासले पेट पोलिरहने जस्ता समस्याहरु थपिएका छन्। यी दुष्परिणामहरुका बाबजूद  शरीरले अहिले चलिरहेको किमोथेरापीलाई थेगेकै छ भनिएको छ र अर्को दुई महिना यसैलाई निरन्तरता दिइने कुरा निश्चित नै छ। त्यस पछिको बोन म्यारो प्रत्यारोपणका लागि  पूर्व तयारी, हस्पिटल बसाइ तथा प्रत्यारोपण पछिको अनुगमन समेत गरी तीन महिना जतिको  कार्यतालिका सहित युनिवर्सिटी अफ् मेरिल्याण्ड् मेडिकल सेन्टरमा रिफर गरिएको छ।

क्यान्सर रोग त्यसै पनि कडा मानिएकै हो। यसका औषधिहरु पनि उत्तिकै  कडा हुने रहेछन्। एउटाको रोकथाम गर्न खोज्दा अर्को रोग बोक्नु पर्ने। मलाई पनि विशेष गरेर किमो लगाएको दुई दिनसम्म अरुचि र वाकवाकीले ग्रस्त नै पार्छ र कहिलेकाहीं त खानै नपरे हुन्थ्यो भन्ने जस्तो लाग्छ। त्यसैगरी, दुई रात जति राम्रो सुत्न पनि सकिंदैन। किमोसंगै प्रयोग हुने स्टेरोइडको प्रभावले भोलिपल्टसम्म शरीरमा कृत्रिम नै भए पनि बेग्लै किसिमको उर्जा तथा स्फूर्ति  महसुस गराउँदो रहेछ। औषधिका यस्ता देखिने-नदेखिने अनेकौं असर हुँदा रहेछन्।  विशेषतः शरीरको प्रतिरोधात्मक शक्ति कमजोर हुने तथा संक्रमणको  जोखिम उच्च हुने  भएकोले बाह्य शरीर बलियै देखिए पनि केही पथपरहेज तथा होशियारी भने अपनाउनु पर्ने रहेछ।

रोग नलागोस् भन्ने चाहना सबैको हुन्छ। म पनि यही चाहन्थें। तर कसरी हो- यो रोगको शिकार हुन पुगें। सम्झिदै जाँदा कोभिडको पहिलो लकडाउनताका  अनौठो किसिमले जिऊ दुख्ने समस्या देखिएको थियो। दैनिकीमा खासै असर नपारे पनि अलि बढी दौडधूप गरेको दिन अलि बढी नै दुखेको आभास हुन्थ्यो र सिटामोलको एक-दुई मात्राले  निको पनि हुन्थ्यो। डाक्टरसंगको भेटमा यो कुरा उठाउने गरे तापनि त्यति गंभिर भइएन। पछि फेरि डेंगूको जरोले थलिन पुगें। तत्पश्चात् भने जिऊको दुखाई संगै शारीरिक आलस्य तथा थकान पनि महसुस हुन थाल्यो। हेमोग्लोबिनमा पनि कमी देखिंदै गयो। यस विषयमा पनि डाक्टरहरुसंग परामर्श गरिएकै हो। कहीं कतैबाट क्यान्सरको शंका गरिएन। सबै कुरा डेंगूकै कारण होला भनियो। अहिले भने मलाई त्यति बेला देखि नै यसले जरा गाड्न शुरु गरिसकेको हुनु पर्छ भन्ने लाग्छ। अमेरिका आएर बोन म्यारो बायोप्सी गर्दा क्यान्सरयुक्त प्लाज्मा सेलको उपस्थिति ७० प्रतिशत देखिएकोले यो रोग अलि पुरानै हो कि भन्ने मेरो अनुमानलाई बल पुगेको छ। जे होस्, अघिल्लो परीक्षणको करिब  आठ महिना पछि नियमित जाँचकै क्रममा यो रोग पत्ता लाग्न पुग्यो। क्यान्सर पहिचानको लागि यो अवधि लामो होइन र म पनि मेरो रोगको पहिचान  समयमै भयो भन्ने ठान्दछु। केही अगाडि भएको भए पनि आजसम्मका मेरा दिनहरु संभवतः यति स्वतन्त्र एवं उपलब्धिमूलक रहने थिएनन्। एक हिसाबले रोग लाग्ने बेला पनि  भइसकेको थियो। वरिपरि हेर्दा मेरा दौंतरी इष्टमित्रहरु सबैजसोले कुनै न कुनै रोग बोकेकै देख्छु। कोही डायबिटिजले ग्रस्त छन्। कोही बाइपास गरेका वा स्टेण्ट हालेर बसेका छन् भने कोही पक्षाघातले सीधा उभिन-हिंड्न सक्दैनन्। कोही डायलासिसको भरमा छन् त कसै-कसैले विदा नै लिई सके। रोग लाग्नु एक स्वाभाविक प्रकृया हो। यसलाई सहज रुपमा स्वीकार्नै पर्छ। अर्को एउटा कटु यथार्थ के पनि हो जस्तो लाग्छ भने जीवनको उत्तरार्धका रोगहरु सामान्यतया निको हुने खालका हुँदैनन्। निको भई हाले पनि जीवन पुरानै लयमा फर्कने सम्भावना हुँदैन। रोगका कारण अशक्त भएर बस्न नपरोस् भनेर व्यवस्थापन गर्ने सम्मको कुरो हो।

यसै क्रममा अमेरिका आई पुगियो। यो भन्दा उत्तम विकल्प कहाँ नै हुन सक्थ्यो र? भाग्यले यतै जुराएको रहेछ। आफन्तहरु तथा मित्रजन पनि “अमेरिकामा छस्, निको भइहाल्छ नि” भन्ने गर्छन्। म सबैको मुखमा दुधभात जाओस् भन्छु। निको हुने नहुने कुरा त्यस्तै हो- उपचारको हिसाबले म पूर्ण सन्तुष्ट नै छु। दिनचर्या पनि राम्रै बितेको छ। पहिलेका अमेरिका बसाइहरु अलि पट्यारलाग्दा हुने गर्थे। यस पटक औषधोपचारको वाध्यता जोडिन पुगेको हुँदा सायद त्यस्तो नहोला। तापनि आफ्नो तर्फबाट  सहज बनाउन भरमग्दूर प्रयास गर्ने गरेको छु। घर नभए पनि आधा परिवार यतै छन्।  नाति-नातिनीहरुसंग खेल्न पाइएको छ। श्रीमतीको अथक स्याहारसुसार कायम नै छ। केटाकेटीहरुको सन्दर्भमा आफूले उनीहरुलाई गरेको मायाको मात्र हेक्का थियो। अहिले उनीहरुबाट पाएको मायाले त्यसै-त्यसै द्रवीभूत हुने गर्दछु। उता भाइहरुले मेरो पक्षको जिम्मेवारी पनि सम्हालेकै छन्। सबैलाई मैले मात्रै गरेको थिएँ भन्ने लाग्दथ्यो- अहिले तिर्नै नभ्याइने ऋण बोक्ने भएँ जस्तो लाग्दछ। समग्रमा हालको परिस्थति अनुकूल नै लागेको छ, तर पनि कहिलेकाहीं बाँधिएर बस्नु परेको जस्तो आभास हुन्छ। आफ्नो परिवेशबाट टाढिनु परेको वेदनाले बेला-बेलामा घोच्ने गर्दछ। विशेषगरी, आफ्नो संस्कार अनुरुपका पूजाआजा, व्रतअनुष्ठान तथा पितृकर्महरु सम्पन्न गर्न नपाउँदा वा नमिल्दा एक किसिमको ग्लानि महसुस गर्दछु। साथीभाइ, र आफन्तसंगको दूरी पनि साह्रै नमीठो लाग्छ।  काम नभएर निष्कृय बस्नु परकोले अफिस तथा आफ्नो कार्यक्षेत्रको संझनाले पनि छोडेको छैन। त्यसैले लम्बिदै गएको उपचार अवधिलाई लिएर  कहिलेकाहीं बेचैन  हुन पुग्छु र कतै यतै फसिने त होइन भन्ने  डरले झस्काउने गर्दछ।

साठी कटे पछि म पैंसठ्ठी देखि पचहत्तरसम्मको जीवन कसरी जिउने भनेर तानाबाना बुन्ने गर्थें। चाहनाहरु सीमित रहून्, दायित्वहरु पञ्छिदै जाऊन्, अर्थोपार्जन तथा सञ्चयको भुमरीबाट निस्कन सकियोस्, जीवन नियमित एवं सुस्थिर ढंगले चलोस् भन्ने मनसूबा बनाएको थिएँ।  मलाई पहिले देखि  नै बुढ्यौलीजन्य शिथिलताहरुले गाँजिएर बाँच्नु नपरोस् भन्ने लाग्थ्यो। अहिले पनि मेरो चाहना त्यही नै हो। बुढेसकालका दिन त्यसै पनि कठिन हुने गर्छन्। त्यसमाथि रोग समेत थपिंदाको स्थिति झनै कष्टप्रद हुने गर्छ। शरीर कमजोर हुँदै जाँदा परिवार वा आफन्तहरु माझ आफ्नो हैसियत खस्कदै गएको मैले धेरै देखेको छु। आफ्नो राय-सुझावको कुनै कदर नहुने र सबै कुरामा आफैंले चित्त बुझाएर बस्नु पर्ने सकसपूर्ण प्रसंगहरु पनि सुनेकै हो। अझ दैनिक कृयाकलापकै लागि अरु माथि आश्रित भएर बस्नु पर्ने अवस्थामा भोग्ने र स्याहार्ने दुबै थरीका कहालीलाग्दो हविगत पनि देखिएकै छ। आफ्नो कारणले अरुले दुख खेप्नु पर्ने अवस्था कुनै पनि हिसाबले वाञ्छनीय हुँदैन। जीवन भनेको आफ्नै बलबूतामा बाँच्न सकेको राम्रो। तसर्थ, आफैंले खियाएर ल्याएको डुङ्गा किनारासम्म ल्याइसके पछि बिसाउनैका लागि चाहिं कुनै अलमल नहोस्  भन्ने मेरो मनसाय हो।  यस हिसाबले म भाग्यमानी नै हुन्छु  जस्तो लागेको छ। माइलोमाले बूढो हुन दिन्छ वा दिदैन- यो त भन्न सक्दिन। तर, अहिलेसम्मको अवस्था हेर्दा मेरा हात-खुट्टा तथा इन्द्रियहरुले मैले पाउने समयावधिसम्म साथ छोड्ने छैनन् भन्नेमा म विश्वस्त छु।

क्रमशः…………

(मेरो रचनोन्मुख अनुस्मृतिको खेस्राबाट “ग्राण्डीदेखि फ्र्याङ्कलिनसम्म” को दोश्रो खण्ड)

6 thoughts on ““ग्राण्डीदेखि फ्र्याङ्कलिनसम्म”- २

  1. हजुर लाई हाम्रो परिवारको तर्फबाट धेरै धेरै आशिर्बाद हजुर 92 वर्ष पुग्नु भएको बुवाको तर्फ बाट पनि हजुरलाई धेरै धेरै आशिर्बाद टक्र्याउँदछु कोटि कोटि प्रणाम

    1. धेरै धेरै धन्यवाद। हजुर हरुको आशीर्वाद लागोस्।

  2. दाई सर्व प्रथम त डण्डवत सहितको न्यानो अभिवादन ! दाईले पस्किनु भएको अनुस्मृतिबाट हजुरको बर्तमान स्वास्थ्य अवस्था बारे बिस्तारमा थाहा पाए । सुधारोन्मुख पाउदा अत्यन्त खुशि छु ! हामी सबै मावलीका तर्फबाट सिघ्र स्वास्थ्यलाभको कामना उनै ईष्ट देवी जगत जननी दक्षिणकाली माता संग गर्दछु !

    1. धन्यवाद भाइ। माताले हामी सबैको रक्षा गरुन्।

  3. Very innovative and motivate personal life real experience sharing
    Malai pani lagtho health issue le garda kaile ta Pashupati Malami jada aafnu Dahasaskar ko lagni kharcha aafaile aaile nai deu ke jasto lagtho dai,, malai bhanda garo unexpected rog le satayo, Dai ko bhawana sharing le motivate hudai aaile ma pani psychology change gardai gaye getting well feeling now.

    1. धन्यवाद छ, राम। शुभकामनाका लागि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top