अमेरिकन एसोसिएसन अफ् क्यान्सर रिसर्चका अनुसार हरेक वर्षको मार्च महिनालाई “Myeloma Awareness Month” भनेर छुट्याइएको रहेछ। “मल्टिपल माइलोमा” एक प्रकारको रक्त कोशिका सम्बन्धी क्यान्सर हो। भर्खर-भर्खरै ममा पनि यही मल्टिपल माइलोमा पुष्टि भएको छ र हाल उपचाररत छु। क्यान्सर रोग औषधि विज्ञानका लागि शताब्दीकै प्रमुख चुनौतिको रुपमा रहेको र यस रोगको समुचित निदान पनि अद्यापि अनुसन्धानकै गर्भ भित्र रहेकोले यसको रोकथाम तथा यस विरुद्धको सचेतना अभियानमा विश्व समुदाय नै सकृय रुपमा संलग्न रही आएको छ र म पनि स्वतः यो अभियानसंग जोडिन पुगेको छु।
यस किसिमको सचेतना अभियानमा बिरामी, बिरामीका आफन्त, चिकित्साकर्मी, आदि सबैको अनुभव संकलन गर्ने, प्रसार गर्ने तथा एक-आपसमा आदान-प्रदान गर्ने कार्यलाई महत्वकासाथ उत्साहित गरिने रहेछ। यस अर्थमा, मेरो अनुभवको दौर भर्खरै शुरु भएको हो र यसले अवश्य नै धेरै घुम्तीहरु पार गर्न बाँकि नै छ। सोही अनुसार नयाँ अनुभवहरु थपिदैं जालान्। यो यात्रामा म एक्लै छैन। क्यान्सर प्रभावित सबैजना प्रत्यक्ष वा अप्रत्यक्ष रुपले यसमा जोडिन पुग्छन्। तथापि, आफ्नो लडाइ आफैं लड्न पर्छ भन्नेमा म स्पष्ट छु। साथै सकरात्मक सोच र दृढ आत्मबल कायम राख्न सके यो युद्धको खेलमा अन्तिम समयसम्म टिक्न सकिन्छ भन्ने कुरामा म विश्वस्त छु।
स्वस्थ्य जीवनशैली, नियमित स्वास्थ्य जाँच तथा शारीरिक सबलता कायम राख्दाराख्दै पनि क्यान्सरबाट जो कोही पनि प्रभावित हुन सक्दा रहेछन्। शुरुको अवस्थामा यस रोगको आफ्नो अलग लक्षण नदेखिन सक्छ जसले गर्दा रोगको पहिचानमा ढीलाई हुने गरेको पाइन्छ। फलस्वरुप, रोगले जटिलता लिई सकेको हुन्छ र त्यस पछिका उपचार दुष्कर तथा विशेष परिस्थितिहरुमा केही हद्सम्म निष्प्रभावी समेत हुन सक्छन् । तथापि, समयमै यसको पहिचान गरी उचित व्यवस्थापन गर्न सके यो रोग असाध्य भने होइन भन्ने कुराको पनि प्रशस्त उदाहरणहरु भेटिन्छन्।
मेरो आफ्नो कुरा गर्नु पर्दा किड्नी परीक्षणको क्रममा यो रोगको संकेत देखिएको हो। यस सम्बन्धी नालीबेली मैले मेरो रचनोन्मुख संस्मरणमा समावेश गर्ने प्रयास गरेको छु। यही सप्ताहान्त देखि शुरु हुने मार्च महिना अर्थात Multiple Myeloma Awareness Month को सन्दर्भमा अहिलेलाई सोही अनुस्मृतिको एउटा खेस्रा अंश “ग्राण्डीदेखि फ्र्याङ्कलिनसम्म” तलको लिङ्कसंगै प्रस्तुत गरेको छु।